राजनीति

नौ वर्षपछि नेविसंघ महाधिवेशन

काठमाडौं– नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघको नौ वर्षपछि आइतबार ११ अाैं महाधिवेशन सुरु हुने भएको छ । संघको १०आैं महाधिवेशन २०६४ जेठ ६, ७ र ८ गते चितवनमा भएको थियो ।
तीनदिने ११औँ महाधिवेशनको नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीस्थित भृकुटीमण्डमा दिउँसो १ बजे उद्घाटन गर्नेछन् ।  
कांग्रेस सरकारमा गए लगत्तै हुन लागेको नेवि संघ महाधिवेशनको उद्घाटन समारोमा देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी, कांग्रेस नेता प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायतले शुभकामना दिनेछन् ।
महाधिवेशनमा देशभरका जिल्ला, क्याम्पस तथा विदेशस्थित सम्पर्क समितिका गरी करिब तीन हजार ४०० प्रतिनिधिले भाग लिने आयोजक समितिले जनाएको छ । साउन २४ गते बन्दसत्र र साउन २५ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुने कार्यक्रम रहेको छ ।
संघीय संरचनाअनुसार नेविसंघले नयाँ विधान पारित गर्ने र सोही अनुसारको सांगठनिक संरचना निर्माण गर्नेछ । संघको केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ । जसअनुसार एक अध्यक्ष, सात प्रदेशबाट एक/एकजना गरी सात, समावेशी चार र दुई मनोनीत गरी १३ जना उपाध्यक्ष रहनेछन् ।
त्यस्तै दुई निर्वा्चित महामन्त्री र एक मनोनीत गरी तीन महामन्त्री हुनेछन् । सात प्रदेशबाट एक÷एक गरी सात, उपत्यका एक, पिछडिएको क्षेत्र एक, चार समावेशी र तीन मनोनीत गरी १६ सहमहामन्त्री रहने व्यवस्था गरिएको छ ।