राजनीति

‘मोदीको नेपाल भ्रमण ऐतिहासिक’

काठमाडौं, ३० बैशाख ।  सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल र ऐतिहासिक भएको बताएको छ । दुई दिने राजकिय भ्रमण सकेर शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किए लगत्तै अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भ्रमण धेरै दृष्टिले ऐतिहासिक र सम्झनलायक रहेको बताए ।

उनले भने, ‘नेपाल भारतबीचमा रहँदै आएको सम्वन्ध यो भ्रमणपछि अझ सुदृढ बन्ने नेपाल सरकारको विश्वास छ ।’ उनका अनुसार विगतमा भएका दुईपक्षीय समझदारीहरुको कार्यान्वयनको समय सीमा तोकिएको छ । आगामी सेप्टेम्बरसम्म नेपालले उठाएका विषयहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने समझादारी भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।
उनले भने, हामीले पहिल्याएका सहयोगका नयाँ क्षेत्रहरु रेलवे, जलमार्ग र कृषिमा साझेदारीमा ठोस प्रगति हुने गरी निर्णय गरेका छौं ।’ शुक्रबार नेपालको दुईदिने राजकिय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीलाई परराष्ट्रमन्त्री ज्ञवालीले काठमाण्डौ विमानस्थल स्वागत र विदाई गरेका थिए । जनकपुरमा भने रक्षामन्त्री ईश्वर पोख्रेलले स्वागत गरेका थिए ।