राजनीति

प्रचण्ड नेतृत्वको सरकार पनि जम्बो बन्ने

काठमाडौं–  नेपाली कांग्रेस लगायतका दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मन्त्री छान्न सकस भएको छ । कांग्रेसबाट १३ र आफ्नो पार्टीबाट ८ जना मन्त्री बनाउने सहमति भए पनि आफ्नै पार्टीबाट आकांक्षी धेरै भएपछि दाहाललाई मन्त्री छान्न सकस भएको हो ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ६ जना उपप्रधानमन्त्री बनाएको भन्दै आलोचना भएकाले यस पटक दुई मात्रै उपप्रधानमन्त्री बनाउने भनिए पनि उति नै संख्यामा उपप्रधानमन्त्री पुग्ने सम्भावना रहेको दाहाल हेडक्वाटरका एक केन्द्रीय सदस्यले बताए । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट पनि सरकारमा सहभागी भएमा मोर्चाका संयोजक उपेन्द्र यादवलाई उपप्रधानमन्त्री दिनुपर्ने तथा फोरम लोकतान्त्रिकबाट सरकारमा सहभागी भएमा विजय गच्छदारलाई पनि उपप्रधानमन्त्री बनाउनुपर्ने बाध्यता भएकाले उपप्रधानमन्त्रीको संख्या पनि आधा दर्जन पुग्ने सम्भावना रहेको छ ।

मन्त्रिपरिषद विस्तारमा सकस भएपछि शनिबार विहानै प्रधानमन्त्री दाहाल कांग्रेस अध्यक्ष शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका थिए । कांग्रेसमा पनि मन्त्रीका आकांक्षी धेरै भएपछि देउवालाई समेत सरकारमा पठाउन सकस भएको छ ।

भेटमा छिट्टै नै मन्त्रीको टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा दाहाल–देउवा दुवै सहमत देखिएको स्रोतको भनाइ छ । देउवासँगको भेटमा सरकार विस्तार तथा सरकारमा रहेर महत्वपूर्ण काम गर्नेबारेमा गम्भीर छलफल भएको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

करिब एक घन्टा लामो वार्तामा मधेसी मोर्चासहितको गठबन्धनसँग भएको तीनबुँदे सहमति कार्यान्वयन र मन्त्रिमण्डल विस्तार र संविधान कार्यान्वयनलगायतका विषयमा छलफल भएको दाहालको निजी सचिवालयले जनाएको छ । वार्तामा मन्त्रिमण्डल गठनमा ढिलाइ नगर्ने र विवाद पनि सकेसम्म बाहिर नल्याउने सहमति भएको छ ।
कांग्रेस र माओवादीबीचको गठबन्धनले गरेको सहमति अनुसार कांग्रेसले १३ र माओवादीले ८ मन्त्रालय लिने सहमति भएपनि प्रधानमन्त्रीसहित माओवादीका चार र नेपाली कांग्रेसका दुई मन्त्रीले मात्र कार्यभार सम्हालेका छन् ।

२३ साउन, २०७३ ।