राजनीति

प्रधानमन्त्री प्रचण्डले गरे ४ महत्वपूर्ण निर्णय

काठमाडौं–  पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए लगत्तै चार वटा महत्वपूर्ण निर्णयहरु भएका छन् ।
१.गरिबका लागि सरकार कार्यक्रम सुरु गर्ने निर्णय
प्रधानमन्त्री प्रचण्डले गरिब घरपरिवारको पहिचान गरी उनीहरूको जीवनस्तर उकास्न ‘गरिबका लागि सरकार’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् । यसका लागि आयआर्जन, शिक्षा, स्वास्थ्य, बिमा, तालिम र प्रविधि हस्तान्तरण, रोजगार तथा स्वरोजगारलगायत कार्यक्रम सञ्चालन गरिने निर्णयमा उल्लेख छ ।

२. भूकम्पपीडितलाई पहिलो किस्ता ४५ दिनभित्र
प्रचण्डले प्रधानमन्त्रीका रूपमा हस्ताक्षर गरेको अर्को निर्णयमा भूकम्प प्रभावित ३१ जिल्लाका पाँच लाख ३३ हजार भूकम्पपीडित परिवारलाई अनुदानको पहिलो किस्ता ४५ दिनभित्र हस्तान्तरण गर्ने उल्लेख छ । भूकम्पपबाट पाँच लाख ३३ हजार १६८ परिवार घरबारविहीन छन् । अहिलेसम्म जम्मा ३९ हजार ७२८ पीडित परिवारको बैंक खातामा पहिलो किस्ता पुगेको छ ।
३. सबै प्राथमिक स्वास्थ्य केन्द्रमा तीन महिनाभित्र चिकित्सक
चिकित्सक नपुगेका प्राथमिक स्वास्थ्य केन्द्रमा तीन महिनाभित्र चिकित्सक पठाइसक्ने निर्णय प्रधानमन्त्री प्रचण्डको छ । जिल्ला तथा त्यसमाथिका सरकारी अस्पतालले एकै छातामुनि सबै सुविधा दिने नीतिअन्तर्गत गुणस्तरीय औषधि उपलब्ध गराउन औषधि कक्ष चालू आर्थिक वर्षबाट सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

४. दलित र कर्णालीका शिशुको जन्मदर्ता गर्दा एक हजार नगद
देशभरका दलित र कर्णालीका नवजात शिशुको जन्मदर्ता गर्न म्यादभित्र आउने परिवारलाई प्रोत्साहनस्वरूप एक हजार दिने निर्णय पनि प्रचण्डले गरेका छन् ।