राजनीति

पहिलाे चरणामा ६ सदस्यीय मन्त्रिपरिषद् गठन

  • मन्त्री, उपप्रधान तथा गृह– विमलेन्द्र निधी
  • मन्त्री, उपप्रधान तथा अर्थ –कृष्णबहादुर महरा
  • मन्त्री, भौतिक पूर्वाधार तथा यातायात– रमेश लेखक
  • मन्त्री, कृषि– गौरिशंकर चौधरी
  • मन्त्री, युवा तथा खेलकूद– दलजीत श्रीपाइली


काठमाडौं– नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा विहीबार ६ सदस्य मन्त्रिपरिषद् गठन भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल बुधबार ब्यवस्थापिका संसदमा बहुमतले प्रधानमन्त्रीमा निर्वाचित भएपछि विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिए ।
प्रधानमन्त्रीको सपथपछि अन्य पाँच मन्त्रीले पनि राष्ट्रपति भण्डारीबाट विहीबार नै सपथ लिएका हुन् । नेपाली कांग्रेसका दुई जना र नेकपा माओवादी केन्द्रका तीन जनाले सपथ लिएका हुन् । कांग्रेसका विमलेन्द्र निधी र रमेश लेखक तथा माओवादी केन्द्रका कृष्णबहादुर महरा, गौरिशंकर चौधरी र दलजीत श्रीपाइलीले राष्ट्रपति भण्डारीबाट नै सपथ लिए ।

निधी र महरा उपप्रधानमन्त्री
माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको मन्त्रिपरिषद्मा दुई उपप्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपतिबाट सपथ लिएका माओवादीबाट कृष्णबहादुर महरा र कांग्रेसबाट विमलेन्द्र निधि उपप्रधानमन्त्री नियुक्त भएका हुन् । सपथ लिएका पाँच जना मन्त्रीहरुको कार्य विभाजन गरिएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार कांग्रेस नेता निधिले उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी पाएका छन् भने अर्का उपप्रधानमन्त्री महराले उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । मर्यादाक्रममा भने निधी प्रधानमन्त्री दाहालपछिको दोस्रो बरियतामा परेका छन् । बरियताक्रममा महरा तेस्रो नम्बरमा परेका छन् ।
यस्तै, मन्त्रीहरु रमेश लेखकले भौतिक पूर्वाधार तथा यातायात र गौरिशंकर चौधरीले कृषि विकास र दलजित श्रीपाइलीले युवा तथा खेलकुद मन्त्रालय पाएका छन् ।

दाहालका विश्वासपात्र महरा गृहमन्त्री
उपप्रधान तथा अर्थमन्त्री बनाइएका माओवादी नेता कृष्णबहादुर महरा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढाल्न सक्रिय थिए । महरासँगै जनार्दन शर्मा पनि ओली सरकार ढाल्न सक्रिय थिए । शर्माले भने मन्त्री भागबण्डामा आफूले चाहेको मन्त्री नपाएको भन्दै असन्तुष्टी जनाएको स्रोतको भनाइ छ ।
महरा प्रधानमन्त्री दाहालका विश्वासपात्र मानिन्छन् । यसअघि दाहाल प्रधानमन्त्री हुँदा सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री भएका उनी सरकार बनाउने चलखेलमा चिनियासँग पैसा मागेको टेप प्रकरणका कारण आलोचित भएका थिए । माओवादी केन्द्रका शीर्ष नेतामध्ये एक महरा ०४८ सालमा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन संयुक्त जनमोर्चाबाट पनि सांसद निर्वाचित भएका थिए ।
शिक्षा संकायमा स्नातक गरेका महराले १२ वर्ष शिक्षण पेशासमेत अंगालेका थिए । जतिबेला वर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन, सभामुख ओनसरी घर्ती, माओवादी नेताहरु वर्षमान पुन, नेत्रविक्रम चन्द, सन्तोष बुढामगर र जयपुरी घर्ती महराका विद्यार्थी थिए । कम्युनिस्ट राजनीतिमा ०३६ सालदेखि होमिएका महरा ०६२÷६३ को जनआन्दोलनपछि पुनस्र्थापित अन्तरिम संसदमा माओवादीका ८३ जना सांसदको नेतृत्व गर्दै संसदमा गएका थिए ।
तत्कालीन कांग्रेस सभापति स्व. गिरिजाप्रसाद कोइरालाको नेतृत्वको अन्तरिम सरकार र ०६५ मा दाहाल  नेतृत्वको सरकारमा सूचना तथा सञ्चार मन्त्री भएका महरा ०६४ को निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए भने दोस्रो संविधानसभाको निर्वाचनमा रोल्पा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।  

निधी सत्ताका खेलाडी
नेपाली कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरेर सरकारमा सहभागी बनेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी सत्ताका चलाख खेलाडी मानिन्छन् । उनी कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । धनुषाको नगराइन–२ मा वि.सं. ०१३ सालमा जन्मिएका निधी धनुषा क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
०३५ सालदेखि कांग्रेसमा आवद्ध निधी अहिले भने काठमाडौंकै बासिन्दा हुन् । निधीको काठमाडौंको पुरानो बानेश्वरको भीमसेन गोला र मध्य बानेश्वरमा आफ्नै घर रहेको छ । पटकपटक गरी ७ वर्षसम्म बन्दी जीवन बिताएका निधी पछिल्लो समय मधेस आन्दोलनका क्रममा मधेसवादी दलहरुसँग छलफल गरी सहमतिका लागि कांग्रेसको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
पटक पटक मन्त्री भएका निधी यसअघि सुशील कोइराला नेतृत्वको सरकारमा भौतिक योजना, निर्माण तथा यातायात मन्त्री थिए ।
 

लेखक संविधान र कानूनका जानकार
माओवादी अध्यक्ष दाहाल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाइएका नेपाली कांग्रेस नेता रमेश लेखक कञ्चनपुर क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ  निर्वाचित सांसद हुन् । कांग्रेस सभापति देउवा निकटका लेखक संविधान र कानूनका जानकार समेत मानिन्छन् ।
लेखकले दोस्रो जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारमा श्रम राज्यमन्त्री भएर काम गरेका थिए । वैतडीको दशरचन्द नगरपालिका जन्मथलो भएका लेखकले कानूनमा एलएलबी र राजनीतिशास्त्रमा एमएसम्मको अध्ययन पूरा गरेका छन् ।

श्रीपाइली संविधानसभामा कुर्ची तोडफोड गर्नेको अग्रपंक्तिमा
नवनियुक्त युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइली पहिलो पटक मन्त्री भएका हुन् । माओवादीका पूर्वलडाकुसमेत रहेका श्रीपाइली माओवादीका समानुपातिक तर्फका सांसद हुन् ।
रुकुमको महत गाविसका श्रीपाइली एक वर्षअघि माघमा संविधानसभामा भएको तोडफोडमा अग्रपंक्तिमा रहेर चर्चामा आएका थिए । दाहालका विश्वासपात्र मध्येका एक दलित नेता श्रीपाइलीले यसअघि भने सांसदबाहेक लाभको पद पाएका थिएनन् ।

गौरीशंकर पहिलो पटक मन्त्री
नवनियुक्त कृषिमन्त्री गौरीशंकर चौधरी पहिलो पटक मन्त्री बन्ने अवसर पाएका हुन् । कैलालीको क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ निर्वाचित चौधरीको अध्ययन एसएलसी सम्म मात्रै हो । थारु समुदायबाट मन्त्री बनेका उनी ०५५ सालमा भूमिगत भएका थिए ।

२१ साउन, २०७३ ।