राजनीति

दोस्रो पटक पनि प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट नेता

छापामार युद्धदेखि सिंहदरबारसम्म

काठमाडौं– नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रोपटक मुलुकको कार्यकारी प्रमुखमा निर्वाचित भएका छन् । २०११ साल मंसिर २६ गते कास्कीको ढिकुर पोखरी–२ मा जन्मिएका प्रचण्ड बुधबार नेपालको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । प्रचण्डलाई नेपाली कांग्रेसहित अन्य १६ दल र एक स्वतन्त्र सांसदले सथर्मन गरेका छन्।

बुधबार संसदमा भएको मतदान पश्चात सभामुख ओनसरी घर्तिमगरले संसदमा हाल कायम रहेका ५९५ सदस्य मध्ये कुल खसेको ५७३ मतको ३६३ मत पाएर मुलुकको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरिन्।
मतदानमा एमाले, राप्रपा नेपाल, नेकपा माले, नेमकिपा, नेपाल समता पार्टी लगायतका २१० सांसदले विपक्षमा मतदान गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विस्तापित गर्दै प्रचण्ड मुलुकको ३९औं प्रधानमन्त्री बन्न सफल भएका हुन्। उनलाई कांग्रेस, मधेसी मोर्चा लगायतका दलले निर्वाचित गरेका हुन्।

पहिलो संबिधानसभाबाट नेकपा माओवादी पहिलो बनेपछि प्रचण्ड २०६५ साउन ३१ मा गणतान्त्रिक नेपालको प्रथम निर्वाचित प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका थिए । प्रचण्ड नेपालको कम्युनिष्ट पार्टीका नेताहरुमा दोस्रो पटक प्रधानमन्त्री बन्ने पहिलो नेता बनेका छन् ।