राजनीति

प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री पदमा निर्वाचित भएका छन्। बुधबार संसदमा भएको मतदान पश्चात सभामुख ओनसरी घर्तिमगरले संसदमा हाल कायम रहेका ५९५ सदस्य मध्ये कुल खसेको ५७३ मतको ३६३ मत पाएर मुलुकको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरिन्।

मतदानमा एमाले, राप्रपा नेपाल, नेकपा माले, नेमकिपा, नेपाल समता पार्टी लगायतका २१० सांसदले विपक्षमा मतदान गरेका थिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विस्तापित गर्दै प्रचण्ड मुलुकको ३९ औं प्रधानमन्त्री बन्न सफल भएका हुन् । उनलाई कांग्रेस, मधेसी मोर्चा लगायतका दलले निर्वाचित गरेका हुन् ।

नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका आज विहान ११ बजेबाट बैठक बसेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीका लागि बुधवार निर्वाचन निर्वाचन भएको हो । 
प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको एकल उम्मेदवारी परेको थियो । 
प्रधानमन्त्रीका उम्मेदवार दाहालले आफ्नो उम्मेदवारी संसदमा सूचना दिइसकेपछि प्रस्ताव र समर्थकले समर्थन गरेको थिए  । त्यसपछि सभामुखले प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत  गरेकी थिइन् । 

प्रधानमन्त्रीका लागि दाहालको मात्रै उम्मेदवारी परेकाले बुधवार उनी दोस्रो पटक मुलुकको कार्यकारी पदमा निर्वाचित भएका छन् । दाहाल मुलुकको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएसँगै उनी दोस्रो पटक प्रधानमन्त्री हुने पहिलो कम्युनिस्ट नेतासमेत बनेका छन् । 

संविधानको धारा २९८ को उपधारा ३ अनुसार संसदमा नयाँ प्रधानमन्त्रीको निर्वाचन भएको हो । दाहालका प्रस्तावकमा नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा र समर्थकमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरालगायत १६ दल रहेका थिए ।