राजनीति

संसदमा कसरी हुँदैछ प्रधानमन्त्रीको चुनाव ?

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने पक्का भएको छ । प्रधानमन्त्रीको उमेद्बारी दिन संसद सचिवालयले तोकेको समायवधिभित्र प्रचण्डको मात्रै उमेद्बारी परेपछि उनी प्रधानमन्त्री बन्ने पक्कापक्की भएको हो । उनी संविधानसभाबाट संविधान जारी भएपछि दोस्रो कम्युनिष्ट प्रधानमन्त्री बन्न लागेका हुन् । नेकपा एमालेले बिपक्षमा मतदान गर्ने भएपनि उमेद्बार नउठाएपछि उनी यो दौडमा प्रचण्ड एक्लै छन् ।
कसरी हुन्छ निर्वाचन ?
बुधबार ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीको चुनावका लागि मतदान हुनेछ । बैठकको शुरुमा प्रधानमन्त्रीका एक्ला उमेद्बार पुष्पकमल दाहाल प्रचण्डका प्रस्तावक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो धारणा राख्दै प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।
त्यसपछि समर्थकहरुले समर्थन गर्नाका कारण पेश गर्दै आफ्ना भनाई राख्नेछन् । एक्लै उमेद्बार भएपनि मतदान प्रक्रियाबाट बहुमत सिद्ध गर्नुपर्ने भएकाले सभामुखले प्रस्तावको पक्ष र विपक्षमा हुने सांसदहरुलाई मतदान गर्न सूचित गर्नेछिन् । त्यसपछि हुन्छ र हुन्न भन्ने पक्षका लागि निर्धारण गरिएको छुट्टाछुट्टै स्थानमा गएर सांसदहरुले आफ्नो नाममा हस्ताक्षर गर्नेछन् । उक्त मत परिणाम सभामुखले घोषणा गर्नेछिन् र संसदमा कायम भएको ५ सय ९५ मतको दुई तिहाई अर्थात २ सय ९८ वा सो भन्दा बढी मत ल्याएमा  प्रचण्ड नेपालको ३९ औं प्रधानमन्त्री घोषित हुनेछन् ।


प्रचण्ड नेतृत्वको सरकारका लागि मधेशी मोर्चाको संयुक्त गठबन्धनले समेत समर्थन गर्ने भएको छ । उनी एक्लै उमेद्बार भएपछि मन्त्री बन्न पाउने आशले साना दलहरुले समर्थन गर्ने क्रम अपेक्षा गरिएको छ ।

औपचारिक रुपम प्रचण्डलाई ३ सय ५७ सांसदको समर्थ पक्का भइसकेको छ ।

प्रचण्डलाई समर्थन गरेका दल र तिनका सांसद संख्या

नेपाली काँग्रेस २०६
नेकपा माओवादी केन्द्र ८१
संघीय समाजवादी फोरम नेपाल १५
मधेशी जनअधिकार फोरम लोकतान्त्रिक १४
राष्ट्रिय प्रजातन्त्र पार्टी १२
तराई मधेश लोकतान्त्रिक पार्टी ११
सद्भावना ५
नेकपा संयुक्त ३
थरुहट तराई पार्टी नेपाल २
अखण्ड नेपाल १
स्वतन्त्र १
समाजवादी जनता पार्टी १
नेपाली जनता दल १
जनजागरण पार्टी १
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट १
खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल १
दलित जनजाति पार्टी, नेपाल १