राजनीति

कमल थापालाई बम्पर अफर !

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपा नेपाललाई ओली सरकारमा पाए जति भाग लिएर सरकारमा सहभागी हुन फेरि पनि आग्रह गर्नुभएको छ । दाहालले मंगलबार थापालाई टेलिफोन गरी ओली सरकारमा पाएको जति हैसियत लिएर आफ्नो नेतृत्वमा बन्ने सरकारमा पनि सहभागी हुन आग्रह गर्नुभएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

केही दिनअघि पनि प्रचण्डले थापालाई भेटेरै सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो । संसदमा २५ सिट भएको राप्रपा नेपालले ओली सरकारमा उप्रधानसहित तीन मन्त्रालय, तीन सहायक र तीन राज्यमन्त्री लिएको थियो । राप्रपा नेपाल सरकारमा सहभागी भए सत्ता पक्षसँग दुई तीहाइ बहुमत पुग्ने भएकाले प्रचण्डले थापालाई सरकारमा सहभागी हुन जोड गर्नुभएको हो ।

प्रचण्डले सम्मानजनक उपस्थिति लिएर सरकारमा सहभागी हुन आग्रह गरे पनि राप्रपा नेपालभित्र भने सरकारमा जाने नजाने विषय अन्यौल रहेको छ ।
मंगलबार बसेको संसदीय दल र कार्य सम्पादन समितिको बैठकमा नेताहरु सरकारका जाने विषयमा विभाजित भएका हुन् । बैठकमा बोल्ने २४ मध्ये १५ जना सरकारमा सहभागी हुनुपर्ने पक्षमा रहेको सहप्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा निरञ्जन थापा, दिनेश श्रेष्ठ, गिताभक्त जोशी, कुन्तीकुमारी शाही, प्रल्हाद साह, टंक ढकाल, राजिव पराजुलीलगायतले प्रचण्डको नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका थिए । दिलनाथ गिरी, सुशीलकुमार श्रेष्ठ, रामकुमार सुब्बालगायतले सरकारमा जान नहुने बताएका थिए । सरकारमा जाने नजानेबारे निर्णय लिन बुधबार बिहान ९ बजे बैठक बोलाइएको छ ।