राजनीति

प्रधानमन्त्री चुनावः प्रचण्डद्वारा उम्मेदवारी दर्ता

काठमाडौं– बुधबार हुने प्रधानमन्त्री निर्वाचनका लागि उम्मेदवारी दर्ता शुरु भएको छ । प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल  दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रचण्ड आफ्ना समर्थक दलका नेताहरुका साथ संसद भवनको ल्होत्से हल पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् भने समर्थकमा कृष्णबहादुर महरा, जयदेव जोशी, कुमार खड्का, चन्द्रेश्वर झा, उपेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन् ।
यसैबीच, कांग्रेस, माओवादी केन्द्र र संघीय गठबन्धन बीच आज विहान संसद भवन बानेश्वरमा भएको छलफलमा तीन बुँदे सहमती भएसँगै मधेसी मोर्चाले काग्रेस–माओवादी केन्द्रलाई समर्थन गरेको हो । 

एमालेले भने प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसको स्थायी कमिटि बैठकले प्रधानमन्त्रीको चुनावमा उम्मेदवारी नदिने निर्णय गरेको हो । एमालेले भने उम्मेदवारी दर्ता नगरे पनि प्रचण्डको विपक्षमा मतदान गर्ने  जनाएको छ । 
प्रधानमन्त्री पदको उम्मेदवारी दर्ताका लागि विहान ११ बजेदेखि अपराहृन ४ बजेसम्मको समय तोकिएको छ । प्रधानमन्त्री पदको चुनाव बुधबार विहान ११ बजे नयाँ वानेश्वरस्थित संसद भवनमा हुनेछ ।