राजनीति

मोर्चाको मागमा सहमति खोज्न कार्यदल

काठमाडौं, साउन । मधेसवादी दलको माग सम्बोधनका लागि ९ सदस्यीय कार्यदल गठन गरिने भएको छ। नयाँ सरकारको गठबन्धनका लागि दलीय छलफल तीब्र बनाएका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको संघीय गठबन्धसंग छलफल गरी माग सम्बोधनका लागि कार्यदल गठन गर्ने सहमति गरेका हुन्।
शनिबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय गठबन्धको संयुक्त बैठकमा मधेसी मोर्चा लगाएतले उठाउदै आएका माग बारे छलफल गरि टुंगोमा पुर्याउनका लागि भन्दै ९ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको हो।

कार्यदलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, र मधेसी मोर्चाबाट ३–३ सदस्य रहने छन्। केही दिन अघि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले संविधानसँग सम्बन्धित आफ्ना माग सम्बोधनका लागि ठोस धारणा नआए नयाँ सरकार गठनको प्रक्रियामा सहभागी नहुने निर्णय गरेपछि सत्तागठबन्धनको तयारीमा लागेका कांग्रेस र माओवादी केन्द्रले गठबन्धनलाई मनाउन लागि परेका हुन्।

मोर्चा सहितको संघीय गठबन्धनको समर्थनमा सरकार गठबन्धनको तयारी गरेका दलहरु कार्यदल बनाई समस्या समाधान गर्नका लागि तयार भएका हुन्। मधेसी, जनजाती, सिमांकन लगायतको विषय टुंगोमा पुर्‍याउने सवालमा एउटा साझा सहमति कायम गर्नका लागि कार्यदल गठन गरिएको दुवै तर्फका नेताहरुले बताएका छन्।

मधेसी मोर्चाले आफ्ना मागबारे प्रष्ट सहमति भएमा मात्र प्रधानमन्त्री चुनावमा मत दिने बताएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने सरकारमा जाने नजानेबारे प्रश्नै नउठेको बताए ।

कार्यदलले सरकार गठन भन्दा अघि गरिने संयुक्त सहमतिका विषयवस्तुको मस्यौदा तयार पार्नेछ  दलहरुले कार्यदलमा रहने सदस्यको टुंगो साझसम्ममा लगााउने बताएका छन्। सहमतिय सरकार गठनका लागि राष्ट्रपतिले दिएको एक साताको समय आईतबार सकिदै छ। व्यवस्थापिका संसदको बैठक सोमबार अपरान्हका लागि बोलाईएको छ।