राजनीति

१२ वर्षपछि एमाले प्रतिपक्षको भूमिका निभाउँदै

काठमाडौं । संसदको दोस्रो ठूलो दल एमाले अब १२ वर्षपछि प्रतिपक्षमा बस्ने भएको छ। कांग्रेस र माओवादी केन्द्रले दुई ठूलामध्ये एक दल प्रतिपक्षमा बस्नुपर्ने अडान लिएका कारण एमालेले फेरि सरकारमा सामेल हुने सम्भावना नरहेको बताएको छ।
प्रमुख  दलहरुकोे दूरी बढेको अवस्थामा राष्ट्रपतिले सहमतीय सरकारका लागि दिएको सात दिनको समयमा त्यस्तो सरकार बन्ने कुनै सम्भावना छैन।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सोमबार प्रमुख तीन दलका नेताहरुबीच राष्ट्रपति कार्यालयमा भेटघाट भएको थियो। त्यसपछि एमालेसँग दुई दलले सरकार निर्माण सम्बन्धमा कुनै छलफल गर्न चाहेका छैनन्।
एमालेले पनि त्यसमा चासो दिएको छैन।‘एमाले अब जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्छ,’एमाले उपमहासचिव विष्णु पौडेलले भने। प्रतिपक्षमा रहेर पनि संविधान कार्यान्वयनलगायत मुलुकका मुख्य मुद्दाहरुमा रचनात्मक भूमिका एमालेले खेल्ने पौडेलले बताए।
१२ साउन, २०७३ ।