राजनीति

अविश्वासको प्रस्ताव माथिको छलफल जारी

शनिबारको संसद बैठकमा कसले के भने ?

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्तावमाथि संसदमामा छलफल जारी रहेको छ । सांसदहरुले स्पष्टरुपमा दुई कित्तामा विभाजन भई आफ्ना भनाइ प्रस्तुत गरिरहेका छन्।  उनीहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । सत्तापक्षका सांसदहरुले प्रधानमन्त्रीविरुद्धमा प्रतिपक्षले ल्याएको अविश्वासको प्रस्तावको कटाक्ष गर्दै सरकारको लोकप्रियतालाई निस्तेज तुल्याउने एक मात्र उद्देश्य राखेर ल्याइएको प्रस्तावले मुलुकलाई थप बर्बादीतर्फ धकेल्ने चेतावनी दिए ।
जनआन्दोलनको उपलब्धिका रुपमा रहेको सङ्घीयता, गणतन्त्र र संविधान कार्यान्वयनको विषयमा एकाकार भएर अघि बढ्नुपर्ने बेलामा नितान्त सरकार परिवर्तन गर्ने खेलमा मुलुकका ठूला राजनीतिक दल लाग्नु दुर्भाग्यपूर्ण रहेको बताउँदै उनीहरुले भूकम्पपीडितको भावना र आकाङ्क्षालाई पूरा गरेर आन्तरिक राष्ट्रवादलाई बलियो तुल्याउने बेलामा सरकार ढाल्ने फोहोरी खेललाई शान्ति र विकासप्रेमी नेपाली जनताले कदापि सहन नसक्ने चेतावनी दिए ।
प्रस्तावको पक्षधर सांसदहरुले भने प्रधानमन्त्रीको दम्भ र अहङ्कारले अविश्वासको प्रस्ताव ल्याउन बाध्य बनाएको जिकिर गर्दै सरकार गठनको व्यवस्था नेपालको संविधानमा छैन भन्ने तर्कले सदनको गरिमा नै घटाएको बताए ।

पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधव कुमार नेपालले  सहमति आवश्यक रहेको औल्याए । उनले भने ‘मेरो चिन्ता देश र जनताको बारेमा छ। हामी प्रधानमन्त्रीको म्यूजिकल चियर खेलमा कति लाग्ने ?’  यो देश डुब्न लाग्यो यो देश बचाउने माझी चाहिएको छ। अहिले जनताले त्यस्तो मानिस पाइरहेका छैनन्। आफ्नो बारेमा सोच्ने मानिस होलान्। अहिले यहाँ नेता होइन पार्टी पनि छैन। म भन्छु, खेलकुद परिषद्मा एमाले पनि होइन । भएको भए चित्त बुझाउँथे। त्यहाँ गुट छ। कुनै पनि देश, पार्टी संस्थागत रुपमा चलेको छैन। प्रत्येक मानिसमा संकल्प चाहिएको छ। व्यक्तिहरु आउन र फोटो झुण्डाउन सक्छन्।
एमाले उपाध्यक्ष वामदेब गौतमले आफूले अविश्वासको प्रस्ताव आउन नदिनका लागि धेरै प्रयत्न गरे । मलाई असाध्यै अप्ठ्यारो पनि लागिरहेको छ । यो प्रस्ताव मेरो पार्टीका अध्यक्ष प्रम क.ओलीविरुद्धमा छ । यसको प्रस्तावको पहिलो हस्ताक्षरकर्ता नायक मेरो घनिष्ट मित्र प्रचण्डको छ । उहाँसँग जहिलेदेखि मित्रता कायम गरे त्यहिँदेखि मैले चिडाउन चाहिन । उहाँको पार्टीमा हुने अनेकौं मोडमा मित्रको नाताले मलाई खोज्दा अनेकौं सल्लाह दिएको थिए। मैले एमाले नेता भनी सोचिनँ। मेरो मित्रलाई मेरो ब्रह्म र विवेकले सल्लाह दिएको छु ।
त्यस्तै, नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले अहिले मुलुकका लागि आवश्यक राष्ट्रिय एकता नै हो। भर्खर बितेका नर्वेका जोन वाल्टनले वक्तव्य दिएका थिए नेपालमा लोकतन्त्र भनेर आएको त दलतन्त्र भनेका थिए।
मैले सच्याएर भने यहाँ नेतातन्त्र छ भनेको गिरोहतन्त्र नै छ। यहाँ गिरोहतन्त्र छ। आशा गरौं हाम्रो पार्टीले एमालेलाइ नहोच्याई राजनीतिक रुपले मिलेर अगाडि बढाउन र काम गर्ने छ। हिजोको घोचपेचबाट पाठ सिकेर अब अघि बढौं। दलमा उचित प्रतिनिधित्व नभएपनि मधेस, जनजाति सबैको स्वामित्व हुने गरी संविधानमा सम्बोधन गरौं।
भूराजनीतिक कारणले नेपालमा परिवर्तन आएको भन्ने कुरा गलत हो। कोतपर्व आउनुभन्दा अघि पनि राजा राजेन्द्र लैन चौरमा जादा ढोका खुलेन, त्रिभुवन जाँदा खुल्यो र प्रजातन्त्र आयो। चाहे पनि नचाहे पनि भारतको प्रभाव नेपालमा छ।  तर नेपालमा कांग्रेस एमाले र माओवादी तीन दल मिलेर यो संविधधान कार्यान्वयन गर्ने कि नगर्ने गम्भीर भएर सोचौं। हामीले बोलेका कुराले कसैलाई पनि चोट लाग्ने कुरा नगरौं। हामी सत्तामा पुग्दा आफू पुगेको र बाहिरिँदा भारतले निकाल्यो भन्ने कुरा नगरौं।

त्यस्तै, नेपाली कांग्रेसका सांसद रमेश लेखकले  संविधानको धारा २९८ मा प्रधानमन्त्रीको चयन, पदमुक्त हुने प्रावधान राखिएको छ। सबै संविधान र नियम पढेँ। प्रधानमन्त्रीले मैले यति धेरै काम गर्छु भन्ने तर मलाई हटाउन खोज्ने भनेर रिस उठेर संसद सदस्यबाट छोड्छु भने मुलुक प्रधानमन्त्रीविहीन मुलुक बन्छ ? एक सदस्यले रिस उठेर गइसकेजस्तै उहाँ पनि सदस्य छाडेर गए के होला ?
हामी यो सदनमा पैसा लिएर वकालत गर्ने धेरै मानिस छौं। जनताको यो अदालत यो सदनमा उभिएर बहस गर्दा पैसा होइन जनता र यो मुलुकलाई हेरेर बहस गर्नुपर्छ। यदि संसदले प्रधानमन्त्री बनाउन सक्दैन भने यो मुलुक निरंकुशतातर्फ लान खोजेको हो ?  संसदले प्रधानमन्त्रीमाथि प्रश्न उठाउन र हटाउन सक्दैन र बनाउन पनि सक्दैन भने यो संसद किन चाहियो ?
शनिबारको बैठकमा सांसद महेन्द्र यादव, रवीन्द्र अधिकारी, दुर्गा पौडेल, रामहरि खतिवडा, कमल पङ्गेनी, अफिलाल अखेडा, सुरेन्द्र चौधरी, भरतकुमार शाह, अब्दुर रज्जाक गद्दी, डा अमरेशकुमार सिंहलगायतले दलीय अवधारणाका आधारमा अविश्वासको पक्ष तथा विपक्षमा आ–आफ्ना तर्क प्रस्तुत गरेका थिए । प्रधानमन्त्रीविरुद्ध सदनमा पेस भएको अविश्वासको प्रस्तावमाथिको छलफल आइतबार पनि जार पनि जारी रहनेछ ।  बैठक आइतबार दिउँसो ११ बजेका लागि बोलाइएको छ ।