राजनीति

बजेटमाथि आश्रित विधेयक भटाभट अस्वीकृत

अविस्वासको प्रस्ताव उपर शनिबारबाट छलफल हुने
काठमाडौं । बल्ल बल्ल संसद सुचारुभएसँगै व्यवस्थापिका संसदमा छलफल थालिएका बजेटसम्बन्धी विधेयक भटाभट अस्वीकृत हुन थालेका छन् । दलहरुबीच भएको समस्या सुल्झिएसँगै संसद सुचारु भएको हो । संसदमा अविश्वासको प्रस्तावभन्दा पहिले बजेट आश्रित विधेयकमाथि छलफल हुने सहमति भएसँगै विधेयक माथिको छलफल शुरु भएको हो ।
समाचार तयार पार्दासम्म संसदले बजेटसँग सम्वन्धित तीन आश्रित विधेयक बहुमतले अस्वीकृत गरेको छ ।

सरकार छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको नेकपा माओवादी केन्द्रले विधेयकको विपक्षमा मत दिएपछि अस्वीकृत भएको हो ।

संसदले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक (२१औं संशोधन)लाई बहुमतले अस्वीकार गरेको हो । विनियोजन विधेयक पास भइसकेको अवस्थामा बजेट आश्रित विधेयक अस्वीकृत भएको यो पहिलो पटक हो ।
यसैबीच, व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश पनि पेश भएको छ । प्रस्तावमाथि छलफलका लागि सभामुख ओनसरी घर्ती मगरले शनिबारबाट लगातार तीन दिनको समय तोकेकी छन् । अहिले अविश्वासको प्रस्तावको प्रस्तावक माओवादी अध्यक्ष प्रचण्डले प्रस्ताव पेश गरिरहेका छन् ।
 

७ साउन, २०७३ ।