राजनीति

ओलीको अडानले एमालेमा स्पष्ट दुर्इ धार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि संविधान संशोधन गर्नुपर्ने अडान लिएपछि उनकै दल एमालेभित्र यस विषयमा दुईधार देखिएका छन् । पछिल्लो स्थायी कमिटी बैठकमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेतालसहितका नेताले संविधान संशोधनतर्फ नलाग्न पार्टी अध्यक्ष समेत रहेका ओलीलाई दवाव दिएका छन् ।

बैठकमा उपाध्यक्ष भीम रावलसहित नेताले नयाँ सरकारका लागि संविधान संशोधन आवश्यक रहेको बताए पनि खनाल र नेपाल पक्षधरका नेताहरुले भने संविधान  संशोधनतर्फ लाग्नु गलत प्रक्रिया भएको बताए । उनीहरुले संविधान संशोधन गर्नु जोखिमपूर्ण यात्रा सुरु गर्नु बाहरु अरु केही नहुने तर्क गरे ।

बैठकमा ओलीनिकट केही नेताले समेत संविधान अस्पष्ट रहेपनि त्यस विषयलाई पार्टीले बढी चर्काउँदा पार्टी र प्रधानमनत्रीको लोकप्रियता गुम्न सक्ने तर्फ सचेत गराएका थिए। नयाँ सरकार गठनका लागि संविधान संशोधनमा अस्पष्टता रहेको भन्दै एमाले सचिव प्रदिप ज्ञवालीले यो एमालेको नभई नयाँ सरकार बनाउनेहरुको चासोको विषय हुनुपर्ने जिकिर गरे ।

७ साउन, २०७३ ।