राजनीति

प्रत्यक्ष निर्वाचित राष्ट्रपति आवश्यक: डा. भट्टराई

बर्दिवास– नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संसदीय व्यवस्थामा देखिएका विकृति अन्त्य गर्नका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । महोत्तरीको बर्दिबासमा पार्टीको क्षेत्रीय कार्यालय उदघाटन गर्दै डा भट्टराईले संविधान घोषणा नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक फड्को भएको बताए । राजनीतिक अधिकार प्राप्तिका बाँकी कुरा यसै संविधानबाट सम्भव हुने भन्दै त्यसका लागि संविधान संशोधनको विकल्पमा जान सकिने बताए ।
संविधानले परम्परागत संसदीय पद्धति अँगालेकाले सरकार बनाउने र ढाल्ने कुरा गरिरहेर स्थिर सरकार भने चल्न नदिइएको उनको भनाइ छ । यसलाई सच्याउन संसद्लाई समानुपातिक प्रतिनिधित्वको बनाउने र प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने व्यवस्था संविधान संशोधन गर्न सके संविधान विश्वकै उत्कृष्ट बन्ने डा भट्टराईले जिकिर गरे ।
संविधान निर्माण र घोषणा लोकतान्त्रिक विधिबाट हुँदाहुँदै पनि यसले मधेस र आदिवासी जनजातिका माग समेट्न नसक्दा अपूर्ण भएको उनले बताए । यसको सम्बोधन पनि संशोधनबाटै सम्भव रहेको उनको भनाइ थियो ।