राजनीति

ओली सरकार ढल्दा मधेसमा हर्ष छाउँछः नेता कर्ण

काठमाडौं ।  सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्दा सिंगो मधेस खुसी हुने बताएकाछन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मधेसी मोर्चाका नेता कर्णले ओलीको विपक्षमा मत हाल्ने बताए केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नैपर्ने थियो भन्दै उनले भने, ‘ म भर्खरै मधेसबाट आएको छु, मधेसी मर्दा आँप झर्‍यो भन्ने सरकार ढल्दा सिँगो मधेस यतिवेला खुशी छ ।’

कांग्रेस(माओवादी केन्द्रको गठबन्धनमा बन्ने सरकारमा मधेसी मोर्चा सहभागी हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भने, ‘हामी राजनीतकर्मी हौं, हामी मठमन्दिरको पूजा गर्न आएका जोगी होईनौं, सन्यासी भएर बसिरहन हामीले राजनीति गरेकै होइन ।’

उनले अघि भने, ‘हामी बाहिर बस्नुपर्छ भन्ने केही छैन, संविधानमा हाम्रो अधिकार सुनिश्चित भएको भोलिपल्टै हामी सरकारमा जान्छौं ।’

तर, मधेसी मोर्चा लगायतको माग पुरा नगरेम्म सरकारमा सहभागी जनाउन नसकिने प्रष्ट पारे । उनले कांग्रेस र माओवादीसँग अहिले पनि मधेसी मोर्चाको पूर्ण विश्वास नभएको टिप्पणी गरे ।