राजनीति

अबको प्रधानमन्त्री देउवा कि प्रचण्ड ?

माओवादीले कारणसहित सरकार छाड्यो
काठमाडौं । नेकपा माओवादी केन्द्र अन्ततः केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएको छ । सहमतीय सरकारका लागि सोमबार दिनभर दौडधूपमा व्यस्त बनेका  प्रचण्ड अन्ततः सरकार छाड्ने निर्णयमा पुगे  । माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर माओवादीले समर्थन फिर्ता लिएको छ । 
माओवादी केन्द्रले लेखेको ‘वर्तमान सरकारको नेतृत्वले ९ बुँदे सहमति र ३ बुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको हुँदा अब हाम्रो पार्टी यस सरकारमा सहभागी भइरहन राजनीतिक रुपमा उपयुक्त नहुने भएकाले अहिलेदेखि नै वर्तमान एमाले नेतृत्वको सरकारबाट पार्टीको समर्थन फिर्ता लिएका छौं ।’  माओवादीले पत्र मार्फत आफ्नो पार्टीका सबै मन्त्री सरकारबाट फिर्ता भएको जानकारी गराएको छ ।


प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रको पत्र (जस्ताको तस्तै)
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली,
प्रधानमन्त्री कार्यालय
सिंहदरबार काठमाडौं।

विषयः वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको बारे।

सम्माननीय प्रधानमन्त्री,
उपरोक्त सम्बन्धमा २०७२ जेठ १६ गते  प्रमुख राजनीतिक दलबीच सहमति भई २०७२ असोज ३ गते संविधान निर्माण र घोषणाको ऐतिहासिक उपलब्धी हासिल भयो। तत्पश्चात संविधानको सर्वस्वीकार्यता र कार्यान्वयन गर्ने,  संक्रमणकालीन न्याय लगायत शान्ति प्रक्रियाका  बाँकी कामलाई  सम्पन्न गर्न,  तराई मधेसमा भएको आन्दोलन एंव  थारु लगायत सबै आदिवासी जनजातिका सरोकारहरु सम्बोधन गर्न, गतवर्षको गएको विनाशकारी  भूकम्पबाट  प्रभावित जनतालाई  राहत तथा  पुनर्निर्माणका लागि  मुलुकमा राष्ट्रिय सहमति अत्यावश्यक रहेको हाम्रो पार्टीको धारणा रहँदै आएको छ।
गत २०७३ वैशाख २३ गते  नेकपा एमाले र हाम्रो पार्टीबीच भएको नौ बुँदे सहमतिको मूल मर्म पनि त्यही थियो।  तर वर्तमान सरकारको नेतृत्वले  नौ बुँदे सहमति र तीन बुँदे भद्र सहमति  कार्यान्वयन गर्न तयार नभएको हुँदा हाम्रो पार्टी अब यस सरकारका रही रहन  राजनीतिक रुपले उपयुक्त नहुने भएकाले अहिलेदेखि नै वर्तमान एमाले नेतृत्वको सरकारबाट पार्टीको समर्थन फिर्ता लिएका छौं। साथै हाम्रो पार्टीका सबै मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाइएको जानकारी गराउँदछौं।  हाम्रो यो निर्णयबाट राष्ट्रिय सहमति निर्माणमा सहयोग पुग्ने हामीले विश्वास लिएका छौं।

अबको सरकार प्रचण्डको कि देउवाको नेतृत्वमा ?

माओवादी ओली सरकारबाट बाहिरिएसँगै नयाँ सरकारको प्रसंग चुलिएको छ । अबको प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड कि शेरबहादुर देउवा भन्ने विषयले राजनीतिक वृत्तमा चर्चा पाएको छ । 
माओवादीले एमालेसँग भएका सहमति र सम्झौता कुनै कार्यान्वयन नभएको कारण देखाएर सरकारबाट बाहिरिएको भए पनि भित्री दाउ भने अबको प्रधानमन्त्री प्रचण्ड बन्ने एक पक्षले अनुमान गरिरहँदा अर्को पक्षले भने अबको प्रधानमन्त्री कांग्रेस सभापति देउवा हुने ठोकुवा गरेको छन् । किनकी कांग्रेसको साथमा प्रचण्ड उहिल्यै प्रधानमन्त्री बनिसक्थे । २४ घण्टा भित्र युटर्न मारेका प्रचण्डले अहिले फेरि ओली सरकारको हात छाडेपछि भोलि कांग्रेसलाई कसरी साथ देला भन्ने अर्को प्रश्न उब्जिएको छ । त्यसैले राम्रा मन्त्रालय दिएर भए पनि कांग्रेसल नेतृत्व लिनेछ ।  त्यस्तै, नेपाली कांग्रेस मुलुकको सबैभन्दा ठूलो पार्टी हो र ठूलो दलले सरकारको नेतृत्वको दाबी गर्नु स्वाभाविक हो, जुन अहिले पनि कांग्रेसका नेताहरुले गरिरहेका छन् । अहिले कांग्रेस पहिलो र माओवादी तेस्रो स्थानमा छन् । यस्तो बेलामा एमालले बाहिरै बसेर नेपाली कांग्रेसलाई साथ र समर्थन गर्ने संभावना पनि छ । 
अर्को बहुमतिय सरकार के का लागि र किन भन्ने प्रश्नको स्पष्ट जवाफ माओवादीसित छैन । ओली सरकारका गृह, आपूर्ति, उर्जा, सामान्य प्रशासन जस्ता ८ वटा महत्वपूर्ण मन्त्रालय माओवादीका हातमा र ओली सरकारको उच्च संयन्त्रमा प्रचण्ड स्वयं विराजमान हुँदा हुँदै माओवादी आफैले ओली सरकार ढालेका कारण कांग्रेसले भोलि आफूसित पनि माओवादीले यस्तै गर्नसक्छ भन्ने आशंका गरेको देखिन्छ ।