राजनीति

सत्ता समीकरणको दौडमा प्रचण्ड गले !

‘प्रचण्ड–ओली’ निर्णायक वार्ताको परिणाम कस्तो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता समीकरणको दौडमा लागि सोमबार दिनभर ब्यस्त बने । दिनभरको दौडधुपले कुनै परिणाम ननिस्किएपछि अन्ततः साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘निर्णायक वार्ता’ भन्दै बेलुका वालुवाटार छिरेका थिए ।

प्रचण्डले साव २ घन्टा प्रधानमन्त्री ओलीसँग गोप्य वार्ता गरे । स्रोतका अनुसार प्रधानमन्त्री ओली र प्रचण्डबीच सत्ता गठबन्धनलाई अझ बलियो बनाउने र यसैमा अन्य दलको समर्थन ल्याएर राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिने समझदारी भएको छ बुझिएको छ ।

‘अहिलेको गठबन्धनलाई कसरी बलियो बनाउने र यसैलाई सहमतिको स्वरुप दिने विषयमा सकारात्मक र गम्भीर छलफल भएको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने– ‘नयाँ राजनीतिक परिस्थितिमा कसरी अघि बढ्ने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भयो ।’

सत्तासीन दलहरुको बैठकमा यसअघि एमालेसँग भएको ९ बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढे पनि तिब्र नभएको वताउँदै नयाँ सरकार गठनको प्रस्ताव राखेका प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारै स्पष्ट कुरा ल्याउन सचेत गराएका थिए । हेडक्वार्टरमा बाझाबाझबाट शुरु भएको प्रचण्डको चार घन्टा लामो बैठकमा सहमतीय सरकार गठनका लागि संवाद गर्ने जिम्मेवारी प्रचण्डलाई दिने निर्णय भएको थियो । त्यसलगत्तै कांग्रेस र माओवादीका दोस्रो तहका नेताहरु सरकार परिवर्तनका खाका बनाउँदै छलफलमा सहभागि  भएका थिए ।

वार्तामा कांग्रेसका तर्फबाट बिमलेन्द्र निधि र रमेश लेखक माओवादीका तर्फबाट महरा र पुन सहभागि भएका थिए । त्यस्तै, दिउँसो नै प्रचण्डले सरकार परिवर्तनको प्राविधिक विषयवारे छलफल गर्न सभामुख ओनसरी घर्तीसँग भेट गरेका थिए ।

देउवासँग दिउसो के भयो ?
सभामुख घर्तीसँगको भेटवार्तापछि अध्यक्ष प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न कांग्रेस संसदीय दलको कार्यालय पुगे ।

देउवा र प्रचण्डको भेटवार्ता सुरु भएपछि दुई दलका दोस्रो पुस्ताका नेताहरुलाई पनि त्यहीँ बोलाइएको थियो । उनीहरु पनि त्यहाँ सामेल भएर प्रचण्डले सहमतीय सरकारको प्रधानमन्त्रीमा आफूलाई समर्थन गर्न देउवासँग आग्रह गरेका थिए ।

तर, देउवाले सहमतीय सरकार हुनै नसक्ने वताउँदै प्रचण्डलाई पहिले सरकार छोडेर आउन सल्लाह दिएका थिए । देउवाले ‘सहमतिको सरकार बन्दैन, तपाईंहरु नयाँ सरकार बनाउन चाहनुहुन्छ भने यो सरकार छोडेर आउनुस् अनि नेतृत्वका विषयमा छलफल गर्न सकिन्छ ।’

२८ असार, २०७३ ।