राजनीति

माओवादी केन्द्रको बारम्बार एउटै निर्णय...

काठमाडौं । नेकपा माओवादी केन्द्रले सहमतीय सरकार गठनको पहल गर्ने निर्णय गरेको छ। त्यसका लागि सबैतिर पहल गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ। पछिल्लो पटक सकार परिवतर्नको कसरतमा देखिएको माओवादी केन्द्रमा बारम्बार सहमतीय सरकार गठनको विषयमा अल्झिन थालेको पाइएको छ । 

अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा सोमबार विहान बसेको बैठकले सरकार गठनका लागि अन्तिम पहल गर्ने निर्यण गरेको हो । सहमतीय सरकारका विषयमा माओवादी केन्द्रका नेताहरु नै मत विभाजनमा देखिएपछि सम्पूर्ण समस्या सुल्झ्याउन सम्पूर्ण जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिने निर्णय भएको हो । 
यसअघि माओवादी केन्द्रको पोलिटब्युरो बैठकले पनि एमालेसँग भएको सहमति र समझदारी कार्यान्वयन गर्न आग्रह गर्ने निर्णय गरेको थियो । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा भएको सत्तारुढ बैठकमा एमाओवादीले सत्ता हस्तान्तरण गर्न प्रस्ताव गरेको थियो।

अध्यक्ष प्रचण्डले बैठकमा भद्र सहमति कार्यान्वयनका लागि प्रधानमन्त्री ओली र एमालेसँग आग्रह गरेका थिए। साथै पार्टीको राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रस्तावका बारेमा समेत धारणा राखेका थिए। 

त्यसअघि एमाओवादी केन्द्रको केन्द्रीय समिति बैठकले पनि नयाँ सरकार गठनका लागि पहल गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो।गएको वैशाख २३ गते एमाले र एमाओवादीबीच वर्तमान सरकारलाई निरन्तरता दिने भन्दै ९ बुँदे समझदारी भएको थियो।

माओवादीले बजेट पारित भएपछि एमालेले सत्ता छाड्ने र माओवादीले नेतृत्व लिने भद्र समझदारी भएको तर्क समेत गर्दै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भने भद्र सहमतिको प्रस्ताव मात्रै आएको र त्यसलाई आफूले अस्वीकार गरेको जिकिर गर्दै आएका छन्।  यसअघि माओवादीको स्थायी समिति बैठकले सरकार परिवर्तनका विषयमा छलफल गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिने निर्णय गरेको थियो। 

शान्ति प्रक्रिया सम्बन्ध विषय, पुनर्निमाण, आन्दोलनरत मधेसी, थारु र जनजाति जनताका सकारात्मक माग सम्बोधन गर्न र विभिन्न तहका निर्वाचन सम्पन्न गर्न राष्ट्रिय राजनीतिक सहमति र सहमतिको सरकार जरुरी भएको निष्कर्षमा पार्टी पुगेको तथा त्यसको पहलकदमी पार्टीले लिने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ।

२७ असार, २०७३ ।