राजनीति

देउवाको कामले केबी गुरुङ दुखित्, लिए समर्थन फिर्ता

काठमाडौं, ९ बैशाख ।  नेपाली कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङले १३ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना धारणा राख्दै पुराना नेता केवी गुरुङले भनेका छन्–साझा सवाल लगायत विभिन्न कार्यक्रम र मञ्चहरुमा पार्टी सभापति एवम् प्रधानमन्त्री हैसियत र गरिमा विपरित विवादास्पद अभिव्यक्तिले पार्टीको लोकप्रियतामा पुग्न गएको गम्भीर क्षति लगायतको कार्यबाट १३ औं महाधिवेशनमा उहाँलाई सभापतिमा प्रस्तावक बसेको नाताले म अत्यन्त मर्माहत हुन पुगेको छु । 
अतः मैले देउवाजीलाई १३ औं महाधिवेशनमा जुन विश्वास लिएर सभापतिमा प्रस्तावित गरेको थिएँ, सभापतिका हैसियतमा उहाँको करिव दुई वर्षको कार्यकाल र प्रधानमनत्रीका हैसियतबाट उहाँले निर्वाह गरेको भूमिकाबाट आज मेरो मन अत्यन्त दुःखित हुन पुगेको परिस्थितिमा पार्टीको विधान र नैतिकताले के भन्ने कुराको पर्वाह नराखी मैले १३ औं महाधिवेशनका क्रममा विधिवत रुपमा देउवाजीलाई नेपाली कांग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरासमेत यस गरिमामय कार्यसमितिको बैठकलाई दुःखपुर्वक सुनाउँदछु ।”