राजनीति

कांग्रेस बैठकमा सेयर बजारको चर्चा

काठमाडौं, १५ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सेयर बजार ओरालो लाग्नु मुलुकका लागि शुभ संकेत नभएको ठहर गरेको छ । बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सेयर बजार ओरालो लाग्नु मुलुकका लागि शुभ संकेत नभएको ठहर गर्दै सरकारलाई यसप्रति गम्भीर हुन आग्रह गरेको छ । 
प्रतिपक्षी कांग्रेसले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा गरी तीन वटै चरणको निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठनपछि पनि सेयर बजार निरन्तर ओरालो लागेको भन्दै चिन्ता पनि व्यक्त गरेको छ । लामो राजनीतिक संक्रमणकालको अन्त्य भएर तुलनात्मक रुपमा सहज राजनीतिक अवस्था बनेको समयमा सेयर बजार ओरालो लाग्नु देशका लागि शुभ संकेत नभएको कांग्रेसले ठहर गरेको छ ।  
‘‘सेयर मार्केट भनेको अर्थतन्त्रको गतिलाई मापन गर्ने पल्स हो,’’ बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘‘नयाँ सरकार गठन भएपछि यो किन ओरालो लागिरहेको भन्ने बारेमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।’’
उनले सेयर बजार ओरालो लाग्नु मुलुकका लागि शुभ संकेत नभएको जिकिर गर्दै यसलाई गम्भीरतापूर्वक लिन सरकारसँग आग्रह गरे । ‘‘सेयर मार्केट ओरालो लाग्नु देशका लागि शुभ संकेत होइन । यसबारेमा गम्भीरता राख्न कांग्रेस सरकारसँग अपिल र आग्रह गर्दछ,’’ उनले भने । 
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार सभापति शेरबहादुर देउवा पक्षीय केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् । उनीहरुले उमेदवारी चयनका विषयमा उठेका कुराहरुको खण्डन गर्दै सभापति देउवाको बचाउ गरे । पौडेल पक्षीय केन्द्रीय सदस्यहरुले चुनावको समयमा टिकट खरिद बिक्री भएको दावी गर्दै छानविनको माग गरेपछि संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुले त्यसको खण्डन गरेका हुन् । 
बिहीबारको बैठकमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, महेन्द्र यादव, रमेश रिजाल र भिष्मराज आङदम्बेले चुनावको समयमा बदलिएको चुनावी चित्रलाई बदल्न नसक्दा पराजय भोग्नु परेको बताएका छन् । 
‘‘उहाँहरुले कम्युनिष्ट गठबन्धन हुँदै गरेको अवस्थालाई रोक्न नसकेको विश्लेषण गर्नुभयो,’’ प्रवक्ता शर्माले भने, ‘‘बाम गठबन्धनको उपस्थिति र समयमै त्यसलाई चिर्न सक्ने गरी पार्टीको प्रभावकारी प्रस्तुति नहुँदा पराजय भोग्नुपरेको भन्ने उहाँहरुको धारणा रह्यो ।’’
शुक्रबार बिहान ११ बजेबाट फेरि केन्द्रीय कार्यसमिति बैठकमा चुनावी समीक्षा गरिने कांग्रेसले जनाएको छ । चैत ९ गतेबाट सुरु भएको बैठकमा बिहीबारसम्म ३८ जना केन्द्रीय सदस्यले आ–आफ्नो भनाइ राखेको र अझै तीन दर्जन केन्द्रीय सदस्यहरुले भनाइ राख्ने इच्छा देखाएको प्रवक्ता शर्माले बताए ।