चलचित्र

निरुता नेपाली फिल्ममा चाँडै फर्किने

काठमाडौं, ४ चैत । लामो समयसम्म नेपाली चलचित्रमा एकछत्र राज गर्न सफल निरुता सिंहलाई दर्शकले नेपाली चलचित्रमा नदेखेको निकै लामो समय भइसक्यो ।  निरुताले धेरै सम्झनलायक फिल्ममा अभिनय गरेकी छिन् । जुनसुकै वर्गका दर्शकका नजरमा निरुता प्रिय अभिनेत्री हुन् । आजपनि उनको फिल्मको प्रतिक्षामा रहने दर्शक कम्ता छैनन् । तर, एक दशक अगाडि मुम्बई छिरेकी सुन्दरी अभिनेत्री सिंह पुनः पर्दामा फर्किइनन् ।  

भारत मोह हो वा फिल्ममा अभिनय गर्ने रहर पुरा भयो उनी काँचको पर्दाबाट एकाएक टाढा भईन् । वर्षौदेखि गुमनाम जस्तै भएकी निरुतालाई फेरि पर्दामा हेर्न दर्शकका आँखा प्यासिएका छन् । 
 'दर्पणछायाँ', 'लहना', 'दुई किनार' लगायतका सय बढी फिल्ममा अभिनय गरेकी निरुता अहिले भारतको मुम्बईमा इन्टेरियर हाउस सञ्चालन गरेर बसेकी छन् । पटक-पटक फिल्ममा फर्किने उद्घोष गरेपनि उनी चलचित्रमा फर्किएकी छैनन् । केही दिन अगाडि कतारमा आयोजना भएको एक साँस्कृतिक कार्यक्रममा भेटिएकी निरुताले आफूलाई पुनः दर्शकको माया पाउन नेपाली फिल्ममा फर्किने ठूलो रहर रहेको बताइन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्, ‘म आज जहाँ छु त्यो नेपाली फिल्म क्षेत्रले दिलाएको ठाउँ हो । म हरेक पल मेरा दर्शकलाई सम्झिन्छु । फिल्म क्षेत्रलाई सम्झिन्छु । मेरो चाहना छ मेरा दर्शकलाई एउटा राम्रो फिल्म दिने । त्यो इच्छा चाँडै प"रा हुन्छ ।’ 
उनले राम्रो स्क्रिप्ट भेटेको खण्डमा फिल्ममा फर्किने बताइन् । ‘मुम्बईमा बसेपनि केही फिल्मबाट अफर आइरहेका हुन्छन् । तर, म एउटा राम्रो फिल्म खोजिरहेको छु ।’ उनले थपिन् ।
निरुता सन् १९९३ मा तुलसी घिमिरेको फिल्म ‘दक्षिणा’ मार्फत नेपाली फिल्म क्षेत्रमा प्रबेश गरेकी थिईन् ।