चलचित्र

चलचित्रकर्मीकाे पहिलाे चरणकाे धार्मिक यात्रा सम्पन्न

काठमाडौं, २ जेठ । नेपाली चलचित्र क्षेत्रले पाएको सफलताको शुखीयाली थालिएको चलचित्रकर्मीहरुको पहिलो चरणको धार्मिक यात्रा सम्पन्न भएको छ । बक्स अफिस इन्टरनेशनल ग्रुप र बक्स अफिस फिल्मी क्बल नेपालको आयोजनामा भएको एक साताको धार्मिक यात्रा पूर्वी नेपालका मठ–मन्दिर तथा शक्ति पीठहरुमा पूजापाठ गरी सम्पन्न भएको हो । नेपाली चलचित्रको इतिहासमा वि.सं. २०७४ साल निकै नै सुखद् रहेको र आगामी दिनमा अझ सफलताको कामना गर्दै धार्मिक यात्रा निकालिएको बक्स अफिस इन्टरनेशनल ग्रुप तथा बक्स अफिस फिल्मी क्लब नेपालका अध्यक्ष रामबहादुर सुवेदी (आर.के.)ले जानकारी दिए ।

गएको मंगलबारबाट काठमाडौंको गणेश मन्दिर लगायत भद्रकाली, पशुपतिनाथ लगायतमा पूजापाठ गरी यात्रा शुरु गरिएको धार्मिक यात्रा टोलीले पूर्वी नेपालका ताप्लेजुङको पाथिभरा, खोटाङको हलेसी, धरानको बुढासुब्बा, जनकपुरको जानकी मन्दिर लगायतका मठमन्दिरहरुमा सामुहिक पूजा गरी यात्रा सम्पन्न भएको हो ।

साताव्यापी धार्मिक यात्रामा नेपाली चलचित्र क्षेत्रका कलाकार, निर्माता, निर्देशक सहितको टोलीको सहभागिता रहेको छ । लोकप्रिय अभिनेता आयूष रिजाल, निर्देशक समाजका सह–कोषाध्यक्ष तथा निर्माता÷निर्देशक राजु अधिकारी, चलचित्र लेखक मौनता श्रेष्ठ, निर्देशक निर्माता बीबी फुँयाल, प्रोडक्सन म्यानेजर कृष्ण कोइराला, भिएफएक्स प्राविधिक अकी शर्मा लगायतका चलचित्रकर्मीहरु धार्मिक यात्रामा सहभागी भएका थिए । कार्यक्रम सम्पन्नपछि चलचित्रकर्मीहरुले कहिल्यै नपुगेको ठाउँमा पुगेर चलचित्रको सुख र शान्तिको कामना गर्न पाउँदा निकै गर्वको महशुस भएको बताए ।

यसैगरी पूर्वी नेपालको धार्मिक यात्रा सम्पन्न भएसँगै आयोजकले अब चाडै दोस्रो चरणमा पश्चिम नेपालका मठ–मन्दिर तथा शक्तिपीठहरुमा धार्मिक यात्रा शुरु गरिने जानकारी दिएको छ । दोस्रो चरणमा पनि काठमाडौंका विभिन्न शक्तिपीठहरुमा पूजाआज गरी मनोकामना, बाहारी, वृन्दाबासीनी, लुम्बीनि, मुक्तिनाथ हुँदै खप्तडसम्मको धार्मिक यात्रा हुनेछ । त्यसैगरी मध्यमाञ्चाल काभ्रेको पलान्चोक, दोलखाको भिमेश्वर, कालिञ्चोक लगायतका मठ मन्दिरमा पनि पूजाआजा गरिनेछ ।

बक्स अफिस इन्टरनेशनल ग्रुप तथा बक्स अफिस फिल्मी क्लब नेपालले विगत लामो समयदेखि देशविदेशमा फिल्म अवार्ड, चलचित्रकर्मीहरुको रमाइलो फुटबल, पत्रपत्रिका, सामाजिक कार्यसँगै अहिले धार्मिक यात्रा थालको हो । पहिलो चरणको धार्मिक यात्रा निकै नै सुखद् रहेको र बक्स अफिसको कामको चलचित्रकर्मीले प्रशंसा गरेका छन् । सधैँ चलचित्रको छायांकनमा व्यस्त रहने अभिनेता आयूषले आफूले यस्ता कार्यक्रममा सहभागिताको कुनै योजना नबनाएको तर विषयवस्तु र नाराले प्रभाव पारेकै कारण एक्कासी विना तयारी लामो यात्रामा निस्किएको बताए । उनले यति लामो यात्रामा नेपाली चलचित्रको लागि आफू र नेपाली चलचित्रको श्रीवृद्धिका लागि गरेको बक्स अफिसको अभियानले मन छोएको बताए । 

त्यसैगरी निर्देशक राजु अधिकारीले आफू चलचित्रको छायांकनमा देशका विभिन्न ठाउँमा पुगेता पनि ताप्लेजुङ, पाँचथर र खोटाङ जस्ता धार्मिक पर्यटकीय स्थलमा पुग्न पाएकोमा शुखी व्यक्त गरे । खुट्टाका विरामी चलचित्र लेखक मौनता श्रेष्ठले आफू हिड्न नसक्ने अवस्था थाहा हुँदा हुँदै पनि धार्मिक यात्राको निस्किनुको छुट्टै आनन्द मिलेको बताए । त्यसैगरी चलचित्र निर्देशक बीबी फुँयाल, निर्माण नियन्त्रक कृष्ण कोइराला र भिएफएक्स सम्पादक अकी शर्माले चलचित्रको कामलाई थाँती राखेर यस्ता पवित्र काममा सहभागी हुन पाउँदा आत्मसन्तुष्टि मिलेको बताए ।
 

नेपाली चलचित्रको इतिहासमा पहिलो पटक २००७ मा निर्माण भएको सत्य हरिशचन्द्रदेखि लिएर २०७५ साल वैशाख २५ गतेसम्म प्रदर्शनमा आएका चलचित्र र यस अवधिमा चलचित्र क्षेत्रले भोगेका उतार चढावलाई ममन गर्दै धार्मिक यात्राको परिकल्पना अघि सारिएको अध्यक्ष सुवेदीले बताए । यस भन्दा अगाडि पनि सशस्त्र युद्धको कारण नेपाली चलचित्र लगभग शून्यतामा रहेको दुखद अवस्थामा संस्थाले देशव्यापी धार्मिक कार्यक्रम सञ्चालन गरेको थियो । २०७४ साल चलचित्र निर्माणको संख्या र सफलतालाई हेर्ने हो भने अहिलेसम्मकै उच्च सफलता हासिल गरेको हुनाले नेपाली चलचित्रको ६८ आंै ऐतिहासिक सफलताको खुशीयालीमा धार्मिक यात्रा आयोजना गरिएको उनले जनाए ।