चलचित्र

शत्रुगतेलाई दर्शकको साथ

काठमाडौं, १२ चैत । गत शुक्रबारबाट प्रदर्शनमा आएको प्रतिक्षित चलचित्र शत्रुगतेले राजधानी लगायत मोफसलमा पनि आक्रामक व्यापार गरेको छ । दर्शकको साथ पाएपछि यतिखेर निर्माण पक्ष निकै नै दंग देखिएको छ । प्रदर्शन अगावै चर्चा बटुलेको चलचित्रलाई दर्शकले प्रदर्शनपश्चात पनि साथ दिएका छन् । 
हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको प्रोडक्सन हाउस महसञ्चारले दशक लामो अन्तरालमा चलचित्र शत्रु गते लिएर दर्शकमाझ आएको हो । प्रदर्शनपूर्व नै विविध कारणले प्रतिक्षित बनेको ‘शत्रु गते’ले सिंगल र मल्टिप्लेक्स दुवैतर्फ राम्रो व्यापार गरे पनि निर्माण पक्षले कति व्यापार भयो भन्ने विषयमा आधिकारिक तथ्यांक भने सार्वजनिक गरेको छैन । तर पनि शुक्रवार ७० लाख र शनिवार १ करोड ३० लाख बढी कलेक्सन गरेको बताइएको छ । 
लगातारको विदाले पनि चलचित्रले साथ पाएको छ । निर्माण पक्षले भनेको कुरालाई आधार मान्ने हो भने चलचित्रले शुक्रबार पहिलो दिन हाउसफू व्यापार ग¥यो । शनिबार सार्वजनिक विदा भएका कारण पनि चलचित्रले हाउसफूल व्यापार ग¥यो । आइबात पनि रामनवमी पर्व परेका कारण चलचित्रलाई अझ राहत मिल्यो । माउथ पब्लिसिटीका एउटा कारण र अर्को चलचित्रमा रहेका स्टार कास्टका कारण पनि चलचित्र हेर्न दर्शक उर्लिए । 
मह जोडीले लामो समयपछि कमब्याक गरेकै कारण पनि फिल्मप्रति दर्शकहरुको कौतुहलता देखिएको हो । चलचित्रले पहिलो शोबाट नै दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएको हो । आइतबार पनि सार्वजनिक विदा भएका कारण काठमाडौँस्थित कुमारी हलमा दर्शकहरुको घुइँचो लागेको थियो, त्यस्तै गोपी–कृष्ण, अष्ट नारायण लगायतका हलहरुमा पनि बिहानीको शोमा दर्शकहरु भरिभराउ थिए । दिउसो र बेलुकी शो हरुमा पनि हल भरिएकै अवस्था देखिएको थियो । चलचित्र हेरेर निस्किएका दर्शकले चलचित्र अहिलेसम्मकै उत्कृष्ट चलचित्र बनेको प्रतिक्रिया दिएका छन् । निर्देशक प्रदीप भट्टराई एवम् कलाकारहरु हरिबंश आचार्य र दिपाश्री निरौलालाई बधाई दिँदै चलचित्र राम्रो बनेको भन्दै दर्शकले तारिफ गरेका छन् । 

करिब १७ बर्ष पछि मह जोडीले निर्माण गरेको चलचित्रमा दीपक–दीपा, नरेन्द्र कंशकार, शिबहरि पौडेल, रमिला आचार्य, यशोदा श्रेष्ठ निर्माताका रुपमा रहेका छन् भने प्रदीप भट्टराईले निर्देशन गरेका छन् । हरिबंश आचार्यको कथा रहेको चलचित्रमा दिपाश्री निरौला, हरिबंश आचार्य, पल शाह, आँचल शर्मा, प्रियंका कार्की, दीपकराज गिरी, किरण के.सी., मदन कृष्ण श्रेष्ठ, शिबहरि पौडेल, बसुन्धरा भुसाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । हास्य विधाको फिल्मको ‘रुपै मोहनी...’ गीतले निकै तारिफ बटुलेको थियो । 
शत्रुगतेको सोलो रिलिजका कारण उक्त फिल्मले देशभर १ सय १० वटाभन्दा बढी हल पाएको वितरकको भनाइ छ । ‘शत्रु गते’को एडभान्स समेत आक्राम बनेको थियो । यो हिसाबले चलचित्रले दैनिक १ करोडभन्दा माथिको व्यापार गर्ने अनुमान गरिएको छ । सामाजिक कथामा केन्द्रीत फिल्म विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ । तराई र काठमाण्डौमा छायांकन गरिएको यो फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ ।
जम्बो कलाकारको टोली सबैको काम राम्रो छ । फिल्ममा पटकथाकार दीपकराज गिरीको कामलाई भने अझै मज्जाको तारिफ मिलेको छ । फिल्मको सुरुवातदेखि अन्त्यसम्म नै दीपकको वरिपरी फिल्म घुमेको छ । फिल्मले सुरुवातदेखि अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको कथालाई उठान गरेको छ ।  फिल्मको कथा वस्तुसंगै यसको हासो र रोदनलाई दर्शकले रुचाएका छन् । फिल्म हेरिसकेका अधिकांस दर्शकले हरिवंश आचार्यको भूमिकालाई रुचाएका छन् भने दीपक राज गिरी अघिल्ला फिल्म भन्दा भिन्न रहेको प्रतिक्रिया दिएका छन् । नेपाली फिल्मको ठूलो बजार मानिने चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरी लगायतमा ठाउँमा पनि आइतवार ‘शत्रु गते’ को विजनेश राम्रो रहेको निर्माण पक्षले दाबी गरेको छ ।