चलचित्र

दर्शकको साथ खोज्दै साम्राज्ञी, ‘तिमी सँग’ दर्शकमाझ

काठमाडौं, २३ चैत । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट चलचित्र तिमीसँग दर्शकमाझ आएको छ । अहिले प्रदर्शन भइरहेको चलचित्र सत्रुगतेले दर्शकको साथ पाइरहेका बेला तिमीसँगलाई चुनौती भने अवश्य रहेको देखिन्छ । चलचित्र तिमीसँगकी लिड अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनयकै कारण पनि चलचित्र प्रतिक्षित बनेको छ । 
चलचित्र ड्रिमबाट डेब्यू गरेकी ड्रिम गर्ल साम्राज्ञीले पहिलो चलचित्रबाट दर्शकको मन जित्न सफल भइन् । त्यसपछि प्रदर्शनमा आएको उनका अर्को चलचित्र ए मेरो हुजुर–२ ले पनि बक्स अफिसमा दर्शकको साथ पायो । युवा पुस्तामा रुचाइएकी अभिनेत्री साम्राज्ञीलाई यो चलचित्रले पनि साथ दिनेमा निर्माण पक्ष ढुक्क रहेको छ । हालै राजधानीमा चलचित्र ‘तिमी सँग’ प्रिमियर गरिएको थियो । राजधानीको कुमारी हलमा गरिएको प्रिमियर शोमा चलचित्रकर्मी, चलचित्र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियर शो हेर्न पुगेका अधिकांश कलाकार र पत्रकारहरुको चलचित्र निकै राम्रो बनेको प्रतिक्रिया दिए । चलचित्रकर्मीहरु छविराज राज ओझा, करिश्मा मानन्धर, गजित बिष्ट, निर्मल शर्मा, शिबहरि पौड्याल, प्रज्वल सुजल गिरी, लगायतका कलाकार उपस्थित भएका थिए । प्रिमियर हेरिसकेपछि उपस्थित सबैले फिल्मको खुलेरै तारिफ गर्दै कलाकारहरुको प्रसंशा समेत गरेका थिए ।
फिल्म हेरीसकेपछि नायिका करिश्मा मानन्धरले फिल्म निकै राम्रो बनेको र शिशिर राणा निर्देशनको प्रसंशा समेत गर्न भ्याएकी थिइन् । फिल्म हेरीसकेपछि अधिकांश चलचित्रकर्मी कलाकार साथै पत्रकारहरुले फिल्म निकै राम्रो बनेको भन्दै कलाकार देखि लिएर छायांकन साथै लोकेशनको समेत चर्चा गरेका थिए । फिल्म हेरिसकेपछि फिल्मका नायक आकाश श्रेष्ठ र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको लभ जोडीको तारिफ गर्दा नाजीर हुसेनको भूमिकाले फेरी एकपटक मन छोएको बताएका थिए । चलचित्र कमेडी साथै लभ र एक्शन जनराको समिश्रणमा बनेको निर्माण पक्षले जनाएको छ । फिल्मले नेपालको एक प्रमुख पर्यटकीय नगरी पोखरा आसपासका ठाउहरु घान्द्रुक, पुनहिल, अन्नपूर्ण बेसक्याम्प लगायतको दृश्यहरुलाई आकर्षक ढंगले देखाएको छ ।  
त्यस्तै, त्यस्तै शुक्रबारबाटै अर्को चलचित्र हिरोज पनि प्रदर्शनमा आएको छ । यस चलचित्रमा पुरानी अभिनेत्री करिश्मा मानन्धरको लिड रोल रहेका कारण पनि तिमीसँगलाई केही असर पर्ने देखिन्छ । हिरोजले बेरोजगारी र मानव बेचबिखनको मुद्दा उठान गरेको छ । फिल्ममा करिश्मा मानन्धरसँगै जयकिशन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल, संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् । शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्म कमल राई, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ । फिल्मको द्वन्द्व शंकर महर्जनले निर्देशन गरेका हुन् ।