चलचित्र

जब ‘पञ्चायत’ हेर्न प्रचण्डदेखि झलनाथसम्म हल पुगे

काठमाडौं, फागुन ।  आगामी चैत २ गते देशैभर प्रदर्शनमा आउन लागेको ऐतिहासिक कथावस्तुमा आधारित चलचित्र ‘पञ्चायत’को रेडकार्पेट प्रिमियर हेर्दै शीर्ष नेताहरुले चलचित्रको तारिफ गरेका छन् । प्रिमियर कार्यक्रममा पुर्व प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेता, विशिष्ठ कलाकार, पत्रकार, चलचित्रकर्मी लगायत ३ सय भन्दा बढीको सहभागितमा रहेको थियो । 
चलचित्र हेरेपछि नेताहरुले उत्कृष्ट फिल्म बनेको भन्दै चलचित्रको कथावस्तु र कलाकारको प्रस्तुतिको भव्य तारिफ गरेका छन् । २०३१ सालमा एउटा गाउँमा भएको न्याय प्रणाली, सामाजिक व्यवस्था तथा सँस्कृतिसँग जोडेर चलचित्र निर्माण गरिएको छ ।
चलचित्र पञ्चायत हेरेपछि पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले भने ‘चलचित्रले त्यतीबेलाको सामाजिक साँस्कृतिक चित्रण गर्न सफल भएको छ, कलाकारको प्रस्तुति राम्रो र प्रभावकारी छ ।’ उनले नाम, कथावस्तु र पात्रको प्रस्तुतिमा अलिकति अन्तरविरोध जस्तो देखिएको प्रतिक्रिया दिए । 
अर्का पूर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले फिल्म यथार्थ, रोचक र मार्मिक भएको उल्लेख गरे । उनले भने–  ‘चलचित्रमा समाजको यथार्थ प्रतिबिम्व छ, विकृति विसंगति उजागर गरेकोमा निर्माण टिमालाई बधाइ छ ।’ पूर्व अर्थमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ले पुरानो इतिहास र समाजलाई हेर्न पाउनु महत्वपूर्ण विषय भएको भन्दै नयाँ पुस्ताले त्यो बेलाको राजनीतिक र सामाजिक परिवर्तन हेर्न पाउनु ठूलो कुरा भएको उल्लेख गरे । 
पूर्व उर्जामन्त्री एवं माओवादी केन्द्रका अर्का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले पुरानो भएपनि नेपाली समाजले भोगेको कुरा देखाउन खोजेको भन्दै कलाकारको मेहनतको प्रशंसा गर्दै भने– ‘हृदयविदारक दृष्य प्रस्तुत गरिएको छ, चलचित्र निकै राम्रो बनेको छ ।’ 
नेकपा एमालेका युवा नेता योगेश भट्टराईले नेपाली समाज त्यसमाथि पनि ग्रामिण भेगको थुप्रै घटना चलचित्रमा प्रस्तुतभएको भन्दै चलचित्र ससक्त बनेको उल्लेख गरे । नेपाली काँग्रेसका नेता तथा पूर्व संचारमन्त्री मिनेन्द्र रिजालले शक्तिशाली विषयबस्तुमा चलचित्र पञ्चायत बनेको भन्दै तारिफ गरे । चलचित्रमा घटेको घटना अब समाजमा नघटुन् भन्ने सन्देश दिन खोजेको आफूले पाएको रिजालले बताए । 
चलचित्रको ‘प्रिमियर शो’मा उद्योग मन्त्री मातृकाप्रसाद यादव, पूर्व सभामुख ओनसरी घर्ती मगर, माओवादी केन्द्रका नेता नारायण दाहाल, काँग्रेस नेतृ उमा रेग्मी, प्रहरी अधिकारीहरु सर्वेन्द्रनाथ खनाल, रमेश खरेल, छविलाल जोशी, चलचित्र निर्माता नरेन्द्र महर्जन र प्रदिप कुमार उदय, आकास अधिकारी, सोभित बस्नेत, जयकिशन बस्नेत लगायत कलाकार र पत्रकारहरुको सहभागिता थियो ।
गणेश गिरी, सुसान्त श्रेष्ठ र शंकर सुवेदीको लगानीमा बनेको चलचित्रको कार्यकारी निर्माता रवि अधिकारी हुन् । शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्रको मुख्य भूमिकामा रहेका नायक सरोज खनाल र नायिका नीता ढुंगानाले शीर्ष नेताहरुबाट तारिफ पाएकाले सहि चलचित्रमा मेहनत गरेको महसुस भएको प्रतिक्रिया दिए । खनाल र ढुंगानासँगै उक्त चलचित्रमा रुपा राना, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ र रवि अधिकारीको समेत अभिनय छ । पञ्चायतले अमेरिकामा भएको फिल्म फेष्टिवलमा २ सय १७ चलचित्र मध्ये उत्कृष्ट अवार्ड समेत पाइसकेको छ ।
चौबन्दी चोली र फरियामा ठाटिएर भिआईपी शोमा उपस्थित भएकी अभिनेत्री नीताले नेपालका शीर्ष नेताबाट पाएको उत्कृष्ट प्रतिक्रियाबाट आफू उत्साहित भएको बताइन् । भनिन् ‘अब दर्शकको प्रतिक्रिया जान्न आतुर छु ।’ यस्तै, अभिनेता सरोज खनालले स्क्रिप्टमा भन्दा अझ राम्रो फिल्म बनेको बताए । उनले भने ‘चलचित्र सबैले रुचाइदिनुभयो यही नै हाम्रो लागि खुसीको कुरा हो ।’ उनी फिल्ममा एक गाउँको मान्यगन्य व्यक्तिको भूमिकामा प्रस्तुत भएका छन् ।