चलचित्र

मह जोडीले माहोल तताउँदै

काठमाडौं, २० फागुन । चैत ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘शत्रु गते’ टोलीको सक्रियता बढेको छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा चलचित्रका कलाकारहरुको सक्रियता बढेको हो । हरेक कार्यक्रममा उनीहरुले चलचित्रको प्रचार प्रसार गर्न थालेका छन् । त्यसो त चलचित्रका मुख्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह’ जोडीले समेत माहोल तताउन थालिसकेका छन् । 
हालै निर्माण पक्षले चलचित्रको कमेडी ट्रेलर सार्वजनिक गरेको छ । शुक्रबार दिउँसो राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा फिल्मका अधिकांश कलाकार उपस्थित भएका थिए ।  
प्रदीप भट्टराईको निर्देशन रहेको फिल्मको ट्रेलरमा कमेडी भरपूर छ । ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ गीत रिलिज भएपछि धेरैका लागि ‘शत्रु गते’ को ट्रेलर प्रतिक्षामा रहेको थियो । प्रदिप भट्टराई निर्देशित फिल्म ‘जात्रा’ ब्लकबस्टर रह्यो । ‘जात्रा’ प्रदर्शनको करिब एक बर्षपछि उनले अर्को फिल्म बनाए, सत्रु गते । लामो समय मह संचारमा रहेर माझिएका उनले यसपाली ‘मसलेदार’ फिल्म बनाएको बताए । मधेस र पहाडी मुलको सम्बन्धबाट फिल्मको घटनाक्रम बुनिएको उनको भनाइ छ । फिल्मले दर्शकलाई समग्रमा मनोरञ्जन दिनेमा उनी विश्वस्त देखिए । भने, ‘फिल्म कति चल्छ भन्ने त समयले देखाउँछ । तर दर्शकले फिल्मलाई रुचाउनेछ भन्ने कुरामा म ढुक्क छु ।’
ट्रेलर रिलिजका क्रममा हास्य अभिनेता किरण केसीले थपे, ‘पेट मिचीमिची हसाउँनेछ ।’ ट्रेलर हेर्दा कमेडी जनारको फिल्म जस्तै देखिन्छ । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल बसुन्धरा भुसाल, राजाराम पौडेल जस्ता हास्य कलाकर्मीको बाहुल्य फिल्ममा देखिन्छ । तर, फिल्म कमेडी जनाराको नबनेको निर्देशक भट्टराईको भनाइ थियो । उनले भने, ‘यो सोसल ड्रामा टाइपको फिल्म हो ।’ कार्यक्रममा निर्देशक भट्टराई, किरण केसी, नायिका आँचल शर्मा उपस्थित थिए । पल शाह भने कार्यक्रम सकिने बेला झुल्किए । हरिवंश आचार्य र मदनकृष्ण भने हल बाहिर भलाकुसारी गरिरहेका थिए । 
चलचित्रका अभिनेता पल शाहले पहाडिया युवक र अभिनेत्री आँचल शर्माले मधेसी युवतीको भूमिका निर्वाह गरेका छन् । पल र आँचलको विवाहमा बाधक बन्ने अरु पात्रहरुको वरिपरि फिल्म घुमेको छ । पहिलो पटक अभिनेत्री प्रियंका कार्की प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिँदैछिन् । अभिनेता दीपकराज गिरीसँग उनको जोडी बाँधिएको छ । यस्तै, हास्यकलाकार हरिवंश आचार्यको श्रीमतीको भूमिकामा हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला प्रस्तुत छिन् । छोराको भूमिकामा पल छन् । ट्रेलरमा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई केही युवतीहरुसँग रोमान्टिक मूडमा देख्न सकिन्छ ।