चलचित्र

स्व. श्रीकृष्णको सम्झनामा श्वेता भावूक

काठमाडौं, १५ पुस । पुष १४ गते शुक्रबार स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको जन्मदिन । २०२७ पुष १४ गते जन्मिएका श्रीकृष्णको २०७१ साउन २५ गते हाडको क्यान्सरका कारण भारतमा निधन भएको थियो । प्रत्येक वर्ष श्रीकृष्णको जन्मदिनमा उनकी श्रीमती तथा अभिनेत्री श्वेता खड्काले उनको सम्झनामा विविध सामाजिक कार्य गर्दै आएको भए पनि यस पटक भने उनले मार्मिक पत्र दर्शकमाझ पेश गरेकी छन् । 
उनले श्रीकृष्णसँग सम्बन्धित बिशेष–बिशेष दिनमा उनको सम्झनामा मार्मीक पत्र लेख्दै युट्युवमा एक भिडियो सार्वजनिक गरेकी हुन् । उनले भिडियोमा भनेकी छिन् ‘म तिम्रो कला यात्रामा हिँडेका पैतालाका डाबहरु पछ्याउँदै हिँडिरहेकी छु । तिम्रो आशिर्वादले सबैको साथ र माया पाएकी छु । फेरि नयाँ जीवन पाएकी छु ।’ 
श्रीकृष्णसँग श्वेताले २०७१ साल असार २३ गते लगनगाँठो कसेकी थिइन् । यी दुईले ‘कहाँ भेटिएला’ र ‘कोहिनूर’ फिल्म एकसाथ गरेका थिए । श्रीकृष्णको निधनपछि लामो समयसम्म शोकमा डुबेकी श्वेताले ‘कान्छि’मार्फत पुनः नेपाली फिल्ममा कमब्याक गरेकी छिन् । उनी अभिनित तथा निर्मित फिल्म ’कान्छी’ फागुन ४ गतेबाट प्रदर्शनमा आउँदैछ । उनको भिडियोमा भावुकता छताछुल्ल भएको छ । उनले भनेकी छिन् ‘मृत्युको दिनभन्दा जन्म दिन महत्वपुर्ण हो । जन्म ले हाँसो फुटाउँछ अनि मृत्युले रोदन छुटाउँछ । मलाई त्यही रोदनको पल भन्दा हाँसोको पल प्यारो छ । किनकी आजकै दिन हजुर जन्मनुभएको थियो–मेरै लागी । हजुरले दिएका आँट तथा अविस्मरणीय पलहरुले जिन्दगीको अन्तहिन यो यात्रामा निरन्तर अगाडी बढ्नको लागी मलाई हौस्याई रहेका छन् ।’