चलचित्र

दीपिकाको साथमा रमेशको दौडधूप

काठमाडौं, २२ असोज । नायक रमेश उप्रेतीको अभिनय र निर्माणमा तयार भएको फिल्म ‘ऐश्वर्य’ कात्तिक ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । रमेश उप्रेतीको भरोसा ‘ऐश्वर्य’ माथि रहेका बेला चलचित्रकी नायिका भने केकी अहिले आफ्नै लगानीमा निर्माण हुन लागेको फिल्मको काममा व्यस्त बनेकी छन् । जसका कारण पनि उनले ‘ऐश्वर्य’को प्रचारमा समय दिन नसकेको बुझिएको छ । तर, जे होस् केकी फिल्मको प्रचार–प्रसारमा नहिँड्दा यसको फाइदा नव–नायिका दीपिका प्रसाईंलाई भएको छ । केकी प्रचारमा राम्रै उत्रिएको भए दीपिका छाँयामा पर्ने पक्का थियो । अहिले दीपिका मिडियामा होस् वा फिल्मको प्रचार सामाग्री जताततै राम्रै छाइरहेकी छिन् । यो फिल्ममा दीपिका र रमेश उप्रेतीको केमेष्ट्री देख्न सकिन्छ ।  
एक समयका चल्तिका नायक रमेश उप्रेती चलचित्रमा कमब्याक भएको चलचतित्र ‘ब्रासलेट’ सुपर फ्लप भएपछि उनी आफै निर्माणमा होमिएका हुन् । अमेरिकाको लामो बसाई पछि स्वदेश फर्केर चलचित्रमा पुनः कब्जा जमाउने कोसिसमा रमेश रहेका छन् । रमेशलाई रजतपटमा पुरानो समयकै झै चम्काउनका लागि यो चलचित्रले सफल ब्यापार गर्नुपर्ने हुन्छ । गत साता सार्बजनिक फिल्मको ट्रेलर हेर्दा राम्रो संकेत जनाएको छ । यद्यपी रिलिजपूर्व गरिएको अनुमानको कुनै टुंगो हुन भने सक्दैन । तथापि अभिनेता रमेशको भरोसा भने ‘ऐश्वर्य’ माथि शतप्रतिसत रहेको छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा नयाँ अनुहार दिपिका प्रसाईको रजतपटमा प्रबेश भएको छ । यस चलचित्रमा रमेश र दिपिका संगै प्रशान्त ताम्रकार र केकी अधिकारी पनि मुख्य भुमिकामा छन् । अभिनेता रमेश उप्रेती प्रस्तुतकर्ता रहेको चलचित्रमा अर्जुन श्रेष्ठ र किरन राना उप्रेतीले लगानी गरेका छन् ।
फिल्ममा समावेश ‘तिमी रोएको पल’ बोलको गीतले अहिले बजारमा राम्रै चर्चा पाइरहेको छ । निर्माण पक्षले फिल्मको फस्ट लुकदेखि गीत र टीजरमा नायिका केकी अधिकारीलाई लुकायो । ट्रेलरमा मात्र दर्शकले केकीलाई देख्न पाए । फिल्मको विशेष कार्यक्रमदेखि प्रचारको सामाग्रीमा खासै नअटाएकी केकी र निर्माण पक्षबीच कतै विवाद भने छैन । फिल्मका निर्देशक दीवाकर भट्टराई भने, ’फिल्मको गीत र ट्रेलर सार्वजनिक कार्यक्रममा उनी आफ्नै कामले व्यस्त बनेकी छन् । तर, फिल्मको प्रचार–प्रसारमा उनी केही दिन हिँडेपनि फस्ट लुक पोष्टर र टीजरमा चाहिँ उनको सस्पेन्स भूमिका कारण नै देखाउन सकेनौं ।’ 
सुदीप बरालले खिचेको यो फिल्ममा रमेश, प्रशान्त, दीपिका र केकीका अलावा निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतका कलाकारहरुको पनि अभिनय छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । यो फिल्मको कथा निर्देशक भट्टराई आफैले लेखेका हुन् ।