चलचित्र

हल–हलमा ‘२ रुपैयाँ’

काठमाडौं, भदौ । यो शुक्रबार नेपाली सिनेमा घरहरुमा चलचित्र २ रुपैयाँ प्रदर्शनमा आएको छ । यो साता अरु कुनै चलचित्र रिलिज नभएकोले यो चलचित्रले एकछत्र राज गर्ने भएको छ । तर, गत हप्ता रिलिज भएको  ए मेरो हजुर २ को चार्म पनि बाक्लै रहेको हुँदा ‘२ रुपैयाँ’का लागि केही चुनौती भने छ । 

चलचित्रको ‘कुटुमा कुटु...’ बोलको गीतका कारण निकै चर्चित बनेको फिल्म धेरै दर्शकका लागि प्रतिक्षित चलचित्र पनि हो ।  चलचित्र रिलिज हुनुभन्दा पहिले नै चलचित्रको गीत निकै लोकप्रिय भैसकेको छ । असिफ शाहको लेखन र निर्देशन रहेको एक्सनप्रधान चलचित्र २ रुपैयाँमा निश्चल बस्नेत, असिफ शाह, बुद्धि तामाङ, मेनुका प्रधान, स्वस्तिमा खड्का, टीका पहारी, रविन्द्र झालगायतका कलाकारको अभिनय रहेको छ ।

नेपाली चलचित्र क्षेत्रका दुई प्रतिभाशाली निर्देशकहरु निश्चल र असिफको सहकार्यमा चलचित्र बनेकाले पनि उनीहरूको परीक्षाका रूपमा यो चलचित्रलाई हेरिएको छ । त्यस्तै चलचित्रमा वरिष्ठ कलाकार टीका पहारीको अभिनय हेर्न पनि दर्शक प्रतिक्षारत थिए ।

चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, शिवराम श्रेष्ठको सिनेमाटोग्राफी तथा राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहेको छ ।