चलचित्र

गुरुङ चलचित्र ‘मैरिमो’ को प्रिमियर शो न्यूयोर्कमा

न्यूयोर्क । गुरुङ चलचित्र ‘मैरिमो’ (मिस यू) को पहिलो प्रिमियर शो न्यूयोर्कमा सम्पन्न भएकोछ । 
गुरुङ भाषा, कला, संस्कृति र गाउँको पीडा समेटेर निर्माण गरिएको चलचित्रको न्यूयोर्कको कुईन्स स्थित गुल्सन टेरेसमा पहिलो प्रिमियर शो गरिएको हो । प्रिमियर शोमा उपस्थित भएका अधिकांश दर्शकले मनोरञ्जनका साथै गाउँघरको वास्तविकता चलचित्रले पस्कन सकेको बताएका थिए । 
प्रेम गुरुङको निर्माण तथा मुख्य भूमिका रहेको चलचित्र मैरिमोको प्रदर्शनबाट उठेको रकमबाट एक लाख रुपैयाँ नेपालका युवा वैज्ञानिक राज गुरुङलाई प्रदान गर्ने घोषणा गरेका छन् । 
प्रिमियर शो को उदघाटन कार्यक्रमका प्रमुख अतिथि वाणिज्यदूत कृशु क्षेत्री, नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाका अध्यक्ष लुईसाङ वाईवा तामाङ र नायक एवं निर्माता प्रेम गुरुङले संयुक्तरूपमा रिवन काटेर गरेका थिए । कार्यक्रममा गुरुङ कलाकारहरू र प्रायोजकहरूलाई सम्मान गरिएको थियो । प्रिमियर शो को आयोजक नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) र सहआयोजक नेपाली महावाणिज्यदूतावास न्यूयोर्क रहेको थियो ।
चलचित्र मैंरिमो नेपालमा बनेका ८५ वटा गुरूङ र ३३६ वटा आदिवासी जनजाति चलचित्रहरूमा पछिल्लो चलचित्र हो । भोजबहादुर गुरूङले निर्देशन गरेको चलचित्र मैंरिमोमा गमन घले, प्रेम गुरूङ, सपना गुरुङ, सेशुभ (सोनु) गुरुङलगायतको अभिनय रहेकोछ ।