राजनीति

स्ववियु निर्वाचनः कहीँ चुनाव, कहीँ तनाव

काठमाडौं– ८ वर्षपछि बुधबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ। धेरै क्याम्पसमा विद्यार्थी संगठनबीच विवादका कारण चुनाव हुन नसके पनि केही क्याम्पसमा उत्साहका साथ चुनाव भएको हाे । त्रिविले काठमाडौँ उपत्यकाका नौ आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन सुरु गरेको हाे ।

जनप्रशासन क्याम्पस, आयुर्वेद क्याम्पस, चिकित्साशास्त्र अध्ययन संस्थान, नर्सिङ क्याम्पस, सानोठिमी क्याम्पस, भक्तपुर क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस र सहिद आदर्श क्याम्पसमा बिहान ९ बजेदेखि निर्वाचन सुरु भएको विश्वविद्यालय अन्तर्गत निर्वाचन समितिका संयोजक गङ्गा थापाले जानकारी दिए ।
त्यसैगरी काठमाडौँ उपत्यका बाहिरका १५ आङ्गिक क्याम्पसमा पनि निर्वाचन भएकाे छ ।  नेविसङ्घ, अनेरास्ववियु (क्रान्तिकारी)लगायत विद्यार्थी सङ्गठनले अन्य क्याम्पसमा ताल्चा लगाएकाले निर्वाचन हुन बाँकी छ ।
अनेरास्ववियुका सचिव आरसी लामिछानेले ‘अनेरास्ववियुका वर्चस्व रहेका अधिकांश क्याम्पसमा अन्य सङ्गठनले अवरोध गरेका कारण’ चुनाव हुन नसकेको बताउँदै वार्ता गरी चाँडो निर्वाचन गराउने वातावरण बनाउन विद्यार्थी सङ्गठनहरुसँग आग्रह गरे। भद्रपुर–मेची बहुमुखी क्याम्पस भद्रपुरमा बिहान ८ बजेदेखि स्ववियु निर्वाचन शान्तिपूर्वक मतदान भएकाे हाे ।
 

निर्वाचन हुन नसकेका क्याम्पसः
काठमाडौंका रत्नराज्य, त्रिचन्द्र, महेन्द्ररत्न, नेपाल ल, विश्वभाषा, पाटन सँयुक्त, अमृत साईन्स, सरस्वती, पशुपती बहुमुखी लगायतका प्रभावशाली क्याम्पसमा निर्वाचन हुन सकेका छैनन् । काठमाडौं बाहिर चितवनका विभिन्न १२ क्याम्पसमा पनि तालाबन्दीका कारण निर्वाचन हुन सकेको छैन ।
देशभरीकै विद्यार्थी राजनीतिमा प्रभाव पार्ने क्याम्पसको रुपमा चिनिएको कास्कीको पृथ्वीनारायण क्याम्पसमा पनि निर्वाचन स्थगित भएको छ । यस्तै विराटनगरको मोरङ बहुमुखी क्याम्पस लगायत तराईका विभिन्न स्थानमा पनि निर्वाचन स्थगित भएका छन् ।
नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी लगायत प्रभावशाली विद्यार्थी संगठनहरुबीचको आपसी द्धन्द्धका कारण अधिकांश क्याम्पसमा निर्वाचन स्थगित भएको हो । एक साता अघिदेखि नै विभिन्न क्याम्पसमा विद्यार्थी संगठनहरुबीच झडप र आगजनी समेत भएको थियो
 

चितवनमा तनावः
चितवनमा उम्मेदवारी दर्ता भईसकेका क्याम्पसहरुमा समेत स्ववियु निर्वाचन हुन सकेको छैन् । निर्वाचन नगराएको भन्दै भरतपुर स्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा अखिल संयुक्तका विद्यार्थीले बुधवार विहान ९ बजे क्याम्पस प्रमुखको कुर्चि जलाएका छन् ।
विद्यार्थीले कुर्ची जलाउनुका साथै क्याम्पसमा तोडफोड गरी अन्य भौतिक क्षति पनि गराएका छन् । आज बुधवार हुने भनिएको स्ववियु चुनाव नभए पछि अखिल संयुक्तले तोडफोड गरेको जनाएको छ । क्याम्पस प्रमुखले चुनाव गर्न आलटाल गरेकाले क्षति पु¥याइएको अखिल संयुक्तका सभापति उम्मेदवार लिला पौडेलले बताए । तोडफोडबाट क्याम्पसका झयालढोका, कुर्चि, टेवल, टेलिफोन सेट आदिमा क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । जिल्लामा एक आंगिक र १२ पब्लिक क्याम्पसमा चुनाव हुने भनिए पनि कुनै पनि क्याम्पसमा चुनाव हुन सकेन छैन ।

अब के हुन्छ ?
त्रिवि शिक्षाध्यक्ष त्रिपाठीले तोकिएकै मितिमा त्रिभुवन विश्वविद्यालयले निर्वाचन सम्पन्न गराएको बताईन् ।  क्रममा त्रिपाठीले भनिन्, ‘हाम्रो काम निर्वाचन गराउने हो हामीले गरायौँ । निर्वाचन नभएका क्याम्पसमा विद्यार्थी संगठनहरुलाई नै निर्वाचन चाहिएको छैन । हामीले कसरी गराउने ?’ निर्वाचन नभएका क्याम्पसका विद्यार्थी संगठनहरुले निर्वाचनको माग गरेको खण्डमा त्यसबारे त्रिविले आवश्यक निर्णय गर्ने बताएकी छिन् ।