राजनीति

सरकारद्वारा निर्वाचनको मिति घोषणा, मोर्चाद्वारा आन्दोलन

काठमाडौं– सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति गर्ने निर्णय गरेको हो । आयोगले वैशाख ३१ कै मिति सुझाएको थियो ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले भने, वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको चुनाव हुन्छ ।’ सुरुमा स्थानीय चुनाव दुई चरणमा गर्ने तयारी थियो । र, आयोगले जेठ १ र २१ को मिति प्रस्ताव गरेको थियो । तर, सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आइतबार अबेर वैशाख अन्तिममा एकै चरणमा स्थानीय चुनाव गर्ने समझदारी भएको थियो ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगलाई झण्डै साढे १० अर्ब दिने निर्णय गरेको छ । १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रुपैयाँ चुनाव खर्च तत्काल निकासा गर्न अर्थ मन्त्रालयलाई भनिएको छ ।

१४ देशका लागि नेपाली राजदूत सिफारिस
सरकारले विभिन्न १४ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको दोस्रो बैठकले सत्तारुढ दलहरुको भागवण्डाका आधारमा राजदूतहरुको नाम सिफारिस गरेको हो ।
सरकारको नेतृत्वकर्ता दल माओवादीको कोटाबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रबहादुर सिंह साउदी अरब र पदम सुन्दास बहराइनका लागि राजदूत सिफारिस भएका छन् ।
चारै जना केपी ओली नेतृत्वको सरकारमा पनि राजदूत सिफारिस भएका थिए । तर, सरकार परिवर्तनसँगै राजनीतिक रुपमा नियुक्त भएकाहरुको नाम फिर्ता लिएसँगै उनीहरु राजदूत हुन रोकिएका थिए । माओवादी कोटामा राजदूत भएकाहरुमध्ये पदम सुन्दास दलित अधिकारकर्मी हुन् भने महेन्द्र सिंह त्रिविका पूर्वप्राध्यापक हुन् । पहिलो संविधानसभामा एमालेबाट सभासद भएकी लक्की शेर्पा दोस्रो संविधानसभा अघि एमाओवादीमा प्रवेश गरेकी थिइन् । यस्तै शर्मिला पराजुली ओमानका लागि राजदूत सिफारिस भएकी छिन् । उनी फोरम लोकतान्त्रिकबाट परेकी हुन् ।
कांग्रेसबाट ६ राजदूत सिफारिस भएका छन् । अर्जुनजंगबहादुर सिंह दक्षिण कोरिया, भीम उदास म्यानमार, चोपलाल भुसाल बंगलादेश, विश्वम्भर प्याकुरेल श्रीलंका, रमेशप्रसाद कोइराला कतार र आशा लामा यूएईका लागि राजदूत सिफारिस भएका छन् ।
भीम उदास गैरआवासीय नेपाली संघ (एनआरएन)का पूर्व उपाध्यक्ष हुन् भने विश्वम्भर प्याकुरेल अर्थशास्त्री हुन् । चोपलाल भुसाल कांग्रेस नेतृ पुष्पा भुसालका पति हुन् । उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका नाक, कान, घाँटीको विशेषज्ञ डाक्टरसमेत हुन् ।
राप्रपाले तीन राजदूत पाएको छ । प्रतिभा राणा जापान, भरत रायमाझी स्पेन र निरन्जन थापा इजरायलका लागि राजदूत सिफारिस भएका हुन् । रायमाझी र थापा ओली सरकारका पालामा राजदूत सिफारिस भएर नाम फिर्ता लिइएकाहरुको सूचीमा पनि थिए । रायमाझी नेपाली सेनाका पूर्व सहायक रथी हुन् भने थापा पूर्व गृहराज्यमन्त्री हुन् । ओली सरकारका पालामा राजदूत सिफारिस भएका खगेन्द्र बस्नेत भने यो पटक परेनन् । उनको नाम काटेर राप्रपाले पूर्व सभासद प्रतिभा राणालाई राजदूत सिफारिस गरेको छ ।

मोर्चाद्वारा आन्दोलनको घोषणा
यसैबीच, सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरे लगत्तै मधेसी मोर्चाले मधेस बन्दको घोषणा गरेको छ । तीन बुँदे सहमति सरकारले कार्यान्वयन नगरी निर्वाचनको मिति घोषणा गरेको भन्दै मोर्चाले मधेस बन्द गर्ने निर्णय गरेको हो ।
मधेसी मोर्चाले सरकारले तीनबुँदे सहमतिलाई लत्याउँदै संविधान संशोधन अघि घोषणा गरेको चुनावलाई बहिष्कार गर्दै मधेशी मोर्चाले मधेशव्यापी आन्दोलन थाल्ने निर्णय गरेको मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताए । मोर्चाले सरकारले बैशाख ३१ गतेलाई घोषणा गरेको निर्वाचनलाई मधेशी मोर्चाले कुनै पनि हालतमा हुन नदिने निर्णय गरेको छ । भोलि मंगलबार साँझ चुनावको विरुद्धमा मसाल जुलूस प्रदर्शन गर्ने, पर्सी बुधबार मधेश बन्द गर्ने मोर्चाको निर्णय गरेको यादवले बताए ।