राजनीति

राप्रपा अधिवेशनः नयाँ नेतृत्वका लागि आज मतदान

काठमाडौं, ९ फागुन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकता महाधिवेशनअन्तर्गत आज नेतृत्वका लागि निर्वाचन हुँदैछ । आइतरबादेखि सुरु भएको निर्वाचन प्रक्रियाअन्तर्गत एक अध्यक्ष र ९८ केन्द्रीय सदस्यका लागि आज निर्वाचन हुन लागेको हो ।

अध्यक्षलाई सर्वसम्मत बनाउने प्रयास असफल भएपछि निर्वाचन गर्न लागिएको राप्रपाले जनाएको छ । अध्यक्षका लागि निवर्तमान अध्यक्ष कमल थापा र काठमाडौंका जिल्ला नेता प्रदीपविक्रम राणाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै ९८ केन्द्रीय सदस्यका लागि तीन सय ६३ जनाको उम्मेदवारी परेको छ ।
अधिवेशनबाट पारित नयाँ विधानअनुसार २७ पदाधिकारी मनोनिन हुनेछन् । बाँकी ४० प्रतिशत केन्द्रीय सदस्य पनि मनोनित हुनेछन् ।

थापालाई टक्कर दिने राणा को हुन् ? 
थापाविरुद्ध उम्मेदवारी दिने राणा काठमाडौं क्षेत्र नम्बर ७ का अध्यक्ष हुन् । लोहनी, राणा पक्षका केही नेता–कार्यकर्ताको साथ र सहयोग भने उम्मेदवार राणालाई भएको बुझिएको छ । शनिबारको बन्दसत्रमा अध्यक्ष थापाले आदेश दिएर बन्दसत्रबाटै निकाल्न लगाएपछि प्रतिशोधमा उनले उम्मेदवारी दर्ता गराएको राप्रपाका एक नेताले बताए ।


राप्रपाले छिटो स्थानीय चुनाव गर्न माग गरेको छ । चुनाव संविधान कार्यान्वयनसँग जोडिएको भन्दै यथाशक्य छिटो चुनाव घोषणा गर्न सरकारसँग माग गरिएको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । ६ फागुनमा महाधिवेशन उद्घाटन कार्यक्रममा पनि अध्यक्ष थापालगायतका शीर्ष नेताले छिटो चुनाव घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । चुनाव घोषणाको पहिलो स्वागत राप्रपाले गर्ने अध्यक्ष थापाको भनाइ थियो ।