राजनीति

राप्रपाको विधान संशोधन प्रस्ताव पारित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनका लागि विधान संशोधन प्रस्ताव पारित भएको छ ।  भृकुटीमण्डपमा जारी कार्यक्रममा विधान संशोधन समितिका संयोजक बुद्धिमान तामाङले प्रस्तुत गर्नुभएको प्रस्ताव परिमार्जनसहित पारित गरिएको हो । 
विधान परिमार्जन गरिएपछि अध्यक्षसहित २७ जना पदाधिकारीको कार्यसमिति गठन गरिनेछ, जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, चार महामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता, पाँच सहमहामन्त्री, सात सहायक महामन्त्री, एक सहायक कोषाध्यक्ष र दुई सहप्रवक्ताको व्यवस्था गरिएको छ । अब १६३ केन्द्रीय सदस्यीय समिति बनाइने भएको छ ।  
यसअघि एक अध्यक्ष, तीन उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता, पाँच सहमहामन्त्री, सात सहायक महामन्त्री, एक सहायक कोषाध्यक्ष र दुई सहप्रवक्ताको प्रस्ताव गरिएको थियो ।  हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र सुदृढ स्थानीय स्वायत्त शासनका पक्षमा पार्टीले एकता महाधिवेशनलाई केन्द्रीत गरेको छ । महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि समोबार निर्वाचन हुने भएको छ । निर्वाचन समितिले शनिबार प्रकाशन गरेको कार्यातालिका अनुसार सोमबार बिहान ७ बजेदेखि मतदान हुनेछ । निर्वाचन कार्यक्रमअनुसार आइतबार उम्मेदवारले मनोनयन दर्ता गर्नेछन् । अध्यक्षका लागि हालसम्म पार्टी अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले उम्मेदवारी घोषणा गरेका छन् । अन्य थुप्रै नेताहरु केन्द्रीय सदस्यको आकांक्षी देखिएका छन् ।