राजनीति

राप्रपाको एकता महाधिवेशनमा लोहनी पनि अध्यक्षका आकांक्षी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भृकुटी मण्डपमा  दिउँसो १ बजे हुनेछ । महाधिवेशको उद्घाटन राप्रपा अध्यक्ष कमल थापाले गर्नेछन् । राप्रपा नेपाल र राप्रपाको एकतापछि पहिलो पटक हुन लागेको महाधिवेशनमा एक लाखभन्दा बढी जनसहभागिता रहने राप्रपाले जनाएको छ ।  महाधिवेशनमा देशभरबाट तीन हजार चार सय ७० जना महाधिवेशन प्रतिनिधि सहभागी हुने छन् । 

पार्टीका विभिन्न जनवर्गीय संगठनले काठमाडौँका ५४ स्थानबाट विभिन्न जाति तथा समुदायका भेषभूषा तथा सांस्कृतिक बाजागाजा र झाँकीसहित पदयात्रा गरी समारोहस्थल भृकुटीमण्डप पुग्ने बताइएको छ । महाधिवेशनको उद्घाटनसत्रमा विभिन्न राजनीतिक दलका प्रमुखसँगै कुटनीतिक नियोगका पदाधिकारीहरुको सहभागिता रहने राप्रपाले जनाएको छ । महाधिवेशनबाट अध्यक्षको नेतृत्वमा एक सय ६१ केन्दीय सदस्य तथा २४ सदस्यीय कार्यसमिति गठन हुनेछ । शनिबारदेखि बन्दसत्र सुरु हुने राप्रपाले जनाएको छ । तत्कालीन राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गते एकता भएको थियो ।

यसैबीच, राप्रपाका शीर्ष नेताबीच अध्यक्ष कमल थापालाई महाधिवेशनपछि अध्यक्ष बनाउने लिखित सहमति भंग भएको छ । यसअघि पार्टीका राष्ट्रिय अध्यक्ष डा।प्रकाशचन्द्र लोहनीले पार्टीको केन्द्रीय नीति निर्धारण तथा निर्देशन समितिको नेतृत्व गर्ने र थापाले पार्टीको नेतृत्व गर्ने सहमति चार शीर्ष नेताबीच भएको थियो । सहमतिमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, कमल थापा थापा, डा लोहनी र पशुपतिशमशेर राणाले हस्ताक्षर गरेका थिए ।

लोहनीले राप्रपाको चुनाव चिन्ह हलो राख्ने र पदाधिकारीमध्ये आधा निर्वाचित हुनुपर्ने पूर्ववत् सहमति पालना नभएको भन्दै यो अवस्थामा बुधबारको सहमति लागू हन नसक्ने बताएका छन् । लोहनीले अब महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । ‘पार्टी एकीकरण भएपछि चुनाव चिन्ह हलो हुने अनि चारजना महामन्त्री र पाँचजना उपाध्यक्षमध्ये दुई–दुईजना निर्वाचित हुने भन्ने थियो, यो सहमति पालना नभएपछि बुधबारको सहमति पालना गर्नुपर्ने अवस्था अब रहेन,’ राष्ट्रिय अध्यक्ष लोहनीले भनेका छन्, ‘अब म हलो चिन्ह पुनस्र्थापनाका लागि पार्टीका सबै साथीहरूलाई आह्वान गरेर अघि बढ्ने निष्कर्षमा पुुगेको छु ।’

कार्यसम्पादन समितिले प्रस्ताव गरेको विधानमा विगतका यी सहमति उल्ट्याइएको लोहनीको आरोप छ । पार्टीको अस्तित्व र पहिचान जोडिएका सहमति उल्लंघन भएको अवस्थामा अरु विषयमा भएको सहमतिको औचित्य नभएको निष्कर्ष निकाल्दै देशभरिका पार्टी नेता कार्यकर्ताका सुझाबलाई शिरोपर गरेर अघि बढ्ने उनले बताएका छन् ।

६ फागुन २०७३ ।