राजनीति

'अन्योलग्रस्त प्रहरीले कसरी मुस्कानसहितको सेवा दिन सक्ला ?'

काठमाडौं, ३ फागुन । बिदाई कार्यक्रममा आइजिपी उपेन्द्रकान्त अर्यालले आफ्नो कार्यकाल सफल भएको बताएका छन् ।तर पछिल्लो समय प्रहरीमा बढेको राजनीतिक चलखेलप्रति उनले असन्तुष्टि व्यक्त गर्दै संगठनका अन्य अंगहरुले राम्रो काम गर्दा आफू सफल भएको बताए । 
तर, पछिल्लो समय प्रहरीमा देखिएको हस्तक्षेप्रति ब्यंग्य गर्दे उनले भने, ‘आफ्नै भविष्यको बारेमा अन्योलग्रस्त प्रहरीले कसरी मुस्कानसहितको सेवा दिन सक्ला?  सम्बन्धितको चेत कहिले खुल्ला ?’ प्रहरीको सबैभन्दा ठुलो पूँजी नागरिकको बिश्वास भएको बताउदै उनले भने, ‘प्रहरी पनि यही समाजको ऐना हो, आकृती नै धमिलो छ भने छाया पनि धमिलो देखिन्छ ।’ प्रहरीमा तीन वर्षको कालखण्डमा कर्तव्यनिष्ठ भएर काम गरेको र यो अवधि आफ्नो आफ्नो मानसपटलमा सधैं जिवन्त रहेने उनले बताए ।
संगठनका सदस्यहरुबीच भातृत्वभाव र एकता बलियो भए मात्र नेपाल प्रहरी बलियो हुने उनको भनाई छ । ‘केही दोष हाम्रो पनि छ । हाम्रो जनशक्तिको समस्या हामीले समाधान नगरेमा उसले अनेक बाटो रोज्नु स्वभाविक हो,’ उनले भने,‘तर, केबल व्यक्तिगत स्वार्थ र लोभका लागि संगठनलाई अनिर्णयको बन्दी बनाउने सोचले संगठनलाई कदापी भलो गर्देन ।’ 
सोमबार नै सशस्त्र प्रहरीका महानिरीक्षक दुर्ज कुमार राईले पनि अवकाश पाएका छन् । सशस्त्र प्रहरी मुख्यालयमा नवनियुक्त आईजीपी सिंहबहादुर श्रेष्ठले राईको बिदाई गरिएको छ । त्यस्तै नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई मंगलबार नै दज्र्यानी चिन्ह प्रदान गरिँदैछ । गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृहसचिव लोकदर्शन रेग्मीले नवनियुक्त आईजीपी श्रेष्ठलाई दज्र्यानी चिन्ह प्रदान गर्ने भएका छन् ।

२ फागुन २०७३ ।