राजनीति

स्थानीय चुनावको तयारीमा जुट्यो सरकार

काठमाडौं- स्थानीय चुनावको तयारी गर्न सरकारले शुक्रबार निर्वाचन आयोगलाई पत्र पठाउने भएको छ । बिहीबारको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार सरकारले शुक्रबार आयोगलाई पत्राचार गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 
मन्त्रिपरिषद बैठकले वैशाख अन्तिम हप्तादेखि जेठ १० गतेभित्र स्थानीय चुनाव सक्ने गरी तयारी थान निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेको थियो । चुनावको लागि आवश्यक विधेयक संसदबाट पारित भएपछि चुनावको तयारीका लागि बाटो खुलेपनि वर्षाअघि चुनावको सम्भावना भने कम देखिएको छ । 
पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयनमा ढिलाई हुँदा आशंका बढेको हो । कानुनी व्यवस्था अनुसार चुनावको मिति तोक्ने अधिकार सरकारको हो । नयाँ संविधानानुसार स्थानीय तह वा पुरानो संरचनाको स्थानीय निकायको चुनाव भन्नेबारे भने स्पष्ट भइसकेको छैन । यस्तै स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा सुझाव लिन गठित कार्यदलले शुक्रबारदेखि काम थाल्दैछ ।
आयोगलाई सरकारले दिएको मापदण्ड र उसको प्रतिवेदनमाथि प्राप्त गुनासाका सम्बन्धमा अध्ययन गरी दुई हप्ताभित्र सुझाव दिन बिहीबारको मन्त्रिपरिषद वैठकले कार्यदल गठन गरेको हो । कार्यदलको संयोजकमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे र सदस्यमा आपूर्तिमन्त्री दीपक बोहरा र उद्योगमन्त्री नवीन्द्रराज जोशी हुनुहुन्छ । मन्त्री जोशीले शुक्रबारदेखि काम सुरु गर्ने तयारी भैरहेको उज्यालोलाई जानकारी दिनुभयो । 
कार्यदलले सुझाव समेटेर प्रतिवेदन बुझाएपछि मात्र स्थानीय तह या निकायको चुनावबारे प्रष्ट हुने सरकारले जनाएको छ । पूर्वसचिव बालानन्द पौडेल अध्यक्ष रहेको पुनर्संरचना आयोगले गएको पुस २२ गते सरकारलाई ७१९ स्थानीय तहसहितको प्रतिवेदन पेस गरेको थियो । संविधानबमोजिम गठित आयोगको प्रतिवेदन परिमार्जन गर्न सकिने या नसकिने भन्ने बहस चलिरहेको छ । संविधान अनुसार आउँदो २०७४ माघ ७ गतेभित्र केन्द्र, प्रदेश र स्थानीय निर्वाचन भइसक्नुपर्छ ।