राजनीति

पुनर्निर्माण प्राधिकरणको सिईओमा डा. पोख्रेल नियुक्त

काठमाडौं–सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पदबाट सुशील ज्ञवालीलाई बर्खास्त गरेर डा. गोविन्द पोख्रेललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पोख्रेललाई प्राधिकरणको सिईओमा नियुक्त गरेको हो ।
प्युठान रस्पुरकोट निवासी डा. पोख्रेललाई पुनर्निर्माण प्राधिकरणमा नियुक्त गर्न कांग्रेसले प्रस्ताव गरेको थियो ।  काम चित्तबुझ्दो नभएको भन्दै यसअघि सरकारले सुशील ज्ञवालीसँग दुईपटक स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले ज्ञवालीलाई पदबाट हटाएको हो।
ज्ञवाली केपी ओली नेतृत्वको सरकारको पालामा पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए भने पोखरेल सुशील कोइराला प्रधानमन्त्री छँदा सिइओ नियुक्त भएका थिए।
यसअघि सुशील कोइराला नेतृत्वको सरकारले डा. पोख्रेललाई पुनर्निर्माण प्राधिकरणको प्रमुखमा नियुक्त गरे पनि सत्ता साझेदार दल एमाले र प्रमुख विपक्षी माओवादीले त्यससम्बन्धी विधेयक नै अगाडि बढाउन नदिएपछि औपचारिकता पाएको थिएन ।