राजनीति

विपक्षीको नाराबाजीबीच संविधान संशोधन प्रस्ताव पेश

काठमाडौं- संविधान संशोधन प्रस्तावमाथिको छलफल नाराबाजीबीच पेश भएको छ। विपक्षी सांसदहरुको नाराबाजीबीच कानूनमन्त्री अजय शंकर नायकले विधेयक पेश गरेका छन्। होहल्लाबीच सभामुख ओनसरी घर्तीमगरले विपक्षीले दर्ता गराएको विधेयक फेल भएको र सरकारले दर्ता गराएको विधेयक पेश गर्न बहुमत पुगेको भन्दै कानूनमन्त्री नायकलाई समय दिएकी थिइन्। मन्त्री नायकले विधेयक प्रस्तुत गरिरहँदा विपक्षी सांसदहरुले उभिएरै सरकारबिरुद्ध नाराबाजी गरिरहे।
निर्वाचनसँग सम्बन्धित कानून पेश गर्न र लोकमानबिरुद्ध महाअभियोग प्रस्तावमाथिको छलफलमा चुप बसेका नेकपा एमालेका विपक्षी दलका सांसदहरु संशोधन विधेयक प्रस्तुत हुनासाथ आफ्नो ठाउँबाट उभिएका थिए।

यसैबीच,  व्यवस्थापिका–संसद् बैठकमा निर्वाचनसँग सम्बन्धी विधेयक कानूनमन्त्री अजय शंकर नायकले विधेयक पेश गरेका थिए। उक्त विधेयक बहुमतबाट पेश भयो। लगत्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्ध महाअभियोग प्रस्तावमाथिको छलफल सकिएको हो। कुनै पनि सांसदले छलफलमा भाग लिन नचाहेपछि संसदबाट पारित भएको जानकारी सभामुख ओनसरी घर्तीमगरले गराइन्।

यसअघिको कार्यसूची बदल्दै निर्वाचनसँग सम्बन्धित र लोकमानसिंहबिरुद्धको महाअभियोग प्रस्तावलाई अघि ल्याइएको थियो भने संविधान संशोधन विधयेक अन्तिममा सारिएको थियो। यसअघि लोकमानबिरुद्ध महाअभियोग प्रस्तावमाथिको छलफल अन्तिम कार्यसूचीमा राखिएको थियो। संसद बैठक सोमबार दिउँसो बस्नेछ ।