राजनीति

संसद बैठक अवरुद्ध हुने संकेत

काठमाडौं–  संविधान संशोधन प्रस्तावलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरुद्ध गराउँदै आएको संसद बैठक आइतबार पनि अवरुद्ध हुने संकेत देखिएको छ ।
दिउँसो एक बजेको लागि बोलाइएको संसद बैठक अवरुद्ध पार्ने एमालेसहितका विपक्षी ९ दलले निर्णय गरिसकेका छन् । विपक्षी दलले संविधान संशोधन प्रस्ताव दर्ता भएसँगै निरन्तर संसद अवरुद्ध पार्दै आएका छन् । बैठकमा सरकारले संशोधन प्रस्ताव टेबुल हुने बताए पनि विपक्षीको निर्णयसँगै प्रस्ताव दर्ता हुने नहुनेमा अन्योलता सिर्जना भएको हो।
संशोधन विधेयकमा प्रदेशको सीमाङ्कन, भाषा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वजस्ता विषय समेटिएका छन् । तर, सीमांकन, भाषा, नागरिकतालगायतका विषयमा एमालेले असहमति जनाउँदै आएको छ । सर्वोच्चले यही प्रकरणमा गरेको फैसलामा सीमांकनको सवाल प्रदेशसभाले मात्रै हेरफेर गर्न सक्ने भनिदिए पनि एमालेले यही ‘प्वाइन्ट’ को सहारा लिएर संशोधन टेबलु हुन नसक्ने दाबी गर्दै आएको छ ।
बैठकको सम्भावित कार्यसूचि
–बैठकमा उपप्रधानमन्त्री विमलेन्द्र निधिले स्थानीय तह निर्वाचन विधेयक, २०७३ लाई प्रस्ताव गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै स्थानीय तह निर्वाचन विधेयक,२०७३ प्रस्तुत गर्ने छन् । यस्तै निर्वाचन संशोधन विधेयकलाई प्रस्तुत गर्न अनुमाति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवाल, अनुराधा थापा मगर डिल्लीप्रसाद काफ्लेले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ ।
यस्तै सांसद चित्रबहादुर केसी मिनापुनले प्रस्तुत गरेको विरोधको सुचनालाई पनि निर्णयार्थ प्रस्तुत गरिने विषय पनि सम्भावित कार्यसूचिमा छ । त्यसपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संविधान संशोधन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यक्रममा उल्लेख छ ।