राजनीति

आइतबार मात्रै दोस्रो स्पष्टीकरण बुझाउने तयारीमा ज्ञवाली

काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले सरकारलाई दोस्रो स्पष्टीकरणको जवाफ आइतबार मात्रै पेस गर्ने भएका छन्। पुनर्निर्माण प्राधिकरणको काम कारबाही सन्तोषजनक नभएको भन्दै ज्ञवालीलाई सोधिएको पहिलो स्पष्टीकरण चित्त बझ्दो नभएपछि  ‘तपाईंलाई किन नहटाउने ?’ भन्दै २४ घन्टा समय दिएर अर्को स्पष्टिकरणका लागि पत्राचार गरेको हो ।
 प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बिहीबार नै ज्ञवालीलाई दोश्रो स्पष्टीकरण सोध्ने जानकारी दिएको थियो। तर प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले स्पष्टीकरण पत्र शुक्रबार कार्यालय समयमा प्राप्त भएको बताएका छन्।
उनले भने – ‘नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पुनः स्पष्टिकरण पेश गर्न भनी पत्र प्राप्त भएको छ। मैले यसअघिको स्पष्टिकरणमा उल्लेखित प्राधिकरणको समन्वयमा सम्बद्ध निकायहरुद्वारा विभिन्न प्रतिकूलता र चुनौतीहरुका बीच भए गरिएका कार्य प्रगति र नतिजाको वस्तुगत अवस्था तथा आधारहरुका साथै प्राप्त पत्रमा उल्लेखित विषयका सम्बन्धमा तोकिएको समयावधि भित्र थप स्पष्ट पार्नेछु । ’
शनिबार कार्यालय बन्द हुने भएकाले ज्ञवालीले आइतबार मात्र सरकारलाई स्पष्टीकरण बुझाउने तयारी गरेका उनका प्रेस संयोजक भुवन केसीले जानकारी दिए। यस अघि एक हप्ता समयावधी दिएर गत पुस १४ गते ज्ञवालीलाई स्पष्टीकरण सोधिएको थियो। ६ दिन पछाडि ज्ञवालीले सरकारलाई स्पष्टीकरण बुझाएकोमा चित्त बुझ्दो नभएको भन्दै विहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुन २४ घण्टे स्पष्टीकरण माग गरको हो ।