राजनीति

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन

काठमाडौं– नेकपा एमालेसहित विपक्षी नौ दलले काठमाडौं उपत्यकाका ४० ठाउँबाट केन्द्रीय नेताहरुकै अगुवाईमा प्रदर्शन निकालेको छ। प्रदर्शनका क्रममा पार्टी झण्डा भन्दा बढी राष्ट्रिय झण्डा बोक्न निर्देशन दिइएको छ। जुलुसमा पनि राष्ट्रियता झल्केन नाराहरु तय गरिएको छ।

४० ठाउँबाटै प्रदर्शन रत्नपार्क आइपुगेपछि नौ दलका शीर्ष नेताहरुको नेतृत्वमा संयुक्त प्रदर्शन शुरु हुने आयोजकले जनाएको छ।
उक्त प्रदर्शनले पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्यूरोडगेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक हु“दै प्रदर्शनीमार्ग परिक्रमा गर्नेछ। यसपछि प्रदर्शन सभामा परिणत हुने जनाइएको छ। शक्ति प्रदर्शनका क्रममा आयोजित सभालाई सकेसम्म छोटो बनाइने एमालेका नेता विष्णु रिमालले बताए। उनका अनुसार सभा एक घण्टाभित्र सकिनेछ।

सभाको सभापतित्व एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गर्ने र महासचिव ईश्वर पोखरेलले सञ्चालन गर्ने रिमालले बताए। सभा छोटो बनाउन पूर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनाल र माधवकुमार नेपालले सम्बोधन गर्ने छैनन्। शक्ति प्रदर्शनका रुपमा आयोजित प्रदर्शनमा उपत्यका बाहिरबाट भने कार्यकर्ता नबोलाइएको एमाले प्रचार प्रमुख योगेश भट्टराईले बताए। तर, सबै भातृ संगठन, सम्पर्क मञ्च र उपत्यकाका सबै कमिटीलाई जनशक्ति उतार्न ह्वीप नै जारी गरिएको छ।

२२ पुस २०७३ ।