राजनीति

अबको संसद बैठकमा प्रस्ताव टेबुल गरिने

काठमाडौं- सरकारले संसद्को अबको बैठकमा संविधान संशोधन प्रस्ताव टेबुल गर्ने संकेत गरेको छ ।मधेसी मोर्चासँग भएका पछिल्ला छलफलमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले त्यस्तो संकेत गरेका हुन् ।  ‘अबको संसद् बैठकमै संविधान संशोधन विधेयक टेबुल गर्ने गरी सरकार अगाडि बढ्छ,’ सत्तारुढ दलका नेताले मधेसी मोर्चाका नेतालाई आश्वस्त पार्दै भनेका छन्, ‘अब यसमा शंका गरिरहनुपर्दैन ।’ सरकारले एमालेको अवरोधका बीच पनि संशोधन प्रस्ताव टेबुल गरेर जाने मोर्चाका नेताहरूलाई बताएको छ । 
सभामुखले पनि अबको संसद् बैठकअगाडिसम्म दलहरूलाई सकभर विषयमा सहमति गर्न नभए प्रक्रियामा सहमति खोजी गर्न समयावधि किटान गरेरै भनेकी छन् । विषय वा प्रक्रियामा सहमति नभए अब प्रक्रियामा अगाडि बढाउने चेतावनी उनले दिँदै आएकी छिन् । सभामुखले दलहरूलाई दिएको तीन दिनको समय आइतबार सकिँदै छ । संसद् बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
 ‘सभामुखले दिएको समयावधिभित्रै सहमतिका लागि सकभर आइतबारै शीर्ष नेताहरूको छलफल हुन्छ होला,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने । संसद्को कार्यसूचीमा यसअगाडि नै संशोधन विधेयक परिसकेको छ । १६ मंसिर यता भने प्रतिपक्षी दलले संसद् लगातार अवरोध गर्दै आएका कारण विधेयक संसद्मा टेबुल हुन पाएको छैन । सत्तापक्षले अबको बैठकमै विधेयक टेबुल गर्छ त ? माओवादी केन्द्रका नेता श्रेष्ठले भने, ‘सभामुख आफैँले पनि प्रक्रिया अगाडि बढाउने बताइसक्नुभएको छ, सहमति हुँदै भएन भने सभामुखले कसरी लैजानुहुन्छ, त्यहीअनुसार अगाडि बढ्छ ।’