राजनीति

स्थानीय निर्वाचन गराउन प्रमुख तीन दल सहमत

काठमाडौं–स्थानीय निर्वाचन गराउन प्रमुख तीन राजनीतिक दल सहमत भएका छन्। सत्ता गठबन्धनका प्रमुख दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच बुधबार निर्वाचन गर्ने विषयमा सहमित जुटेको हो। तर निर्वाचन कहिले हुने भन्ने विषयमा मिति भने तोकिएको छैन ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको तीन दलको बैठकमा स्थानीय निकाय वा तह जुनमा दलहरुबीच सहमति हुन्छ त्यसैमा निर्वाचन गराउने सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘स्थानिय तह पुनर्संरचना आयोगले समेत प्रतिवेदन बुझाइसकेको अवस्थामा निर्वाचन गराउनुपर्ने कुरामा हामीहरु सबै सहमत भएका छौं, उनले भने– ‘पुरानो संरचना स्थानीय निकाय र नयाँ संरचना स्थानीय तह जुनमा राजनीतिक दलहरु सहमत हुनसक्छौं, त्यसैमा निर्वाचन गर्ने सहमति बनेको छ।’ निर्वाचन गर्ने कुरामा तीनवटै पार्टीको एकमत भएपनि तह या निकाय भन्‍ने विषय अझै टुंगो नलागेको उनले बताए।
कांग्रेस नेता तथा उपप्रधानमन्त्री विमलेन्द्र निधिले निर्वाचन गराउन सहमत भइसकेपछि संसद बैठक खुलाउनका लागि बैठकमा एमालेसँग आग्रह गरेका थिए। उनले निर्वाचनसम्बन्धि विधेयकहरु पास गर्नको लागि पनि संसद खुलाउनुपर्ने बताएका थिए। तर, एमाले नेताहरुले सरकारले संविधान संशोधनको प्रस्ताव फिर्ता लिई निर्वाचनसम्बन्धि विधेयकहरु मात्र कार्यसूचिमा ल्याउनुपर्ने अडान राखे।

१३ पुस २०७३ ।