राजनीति

सरकार उद्दण्ड भयो अब चुप लाग्दैनौंः विपक्षी दल

काठमाडौं– नेकपा एमालेसहितका विपक्षी ९ दलले सत्तापक्ष उद्दण्ड भएको र विपक्षीलाई धक्याउन लागेको आरोप लगाएका छन् । आइतबार सिंहदरवारमा संयुक्त पत्रकार सम्मेलन गरेर ९ दलले सरकार आफैं हिंसा फैलाउन अग्रसर भएको भन्दै अब चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले विपक्षीलाई धम्क्याउने, लल्कार्ने काम गरिरहेको आरोप लगाए । विपक्षीलाई जनताको बीचमा जान नदिने प्रयास सुरु भएको भन्दै उनले आक्रोश पोखे । सरकारले संविधान संशोधनविरुद्ध भइरहेको आन्दोलनलाई वितण्डा भनेपछि भैरहवामा युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या र उद्योग वाणिज्य संघका अध्यक्षमाथि भएको आक्रमण भन्दै ओलीले भने, ‘सरकार हिंसा फैलाउन अग्रसर भएको देखिन्छ ।’
यसैबीच, एमालेसहितका विपक्षी नौ दलले जारी गरेको नौबुँदे अपीलमा तीनै तहको चुनाव गर्ने कार्ययोजनासँगै स्थानीय तहको चुनानको मिति घोषणा गर्न माग गरेका छन् । यसलाई अवरोध गर्ने गरी संविधान संशोधन विधेयक आएको भन्दै नौ दलले भनेका छन्, ‘देश तथा जनताको हित विपरितको संविधान संशोधन विधेयक हामीलाई स्वीकार्य छैन ।’ देशलाई उत्तेजना र अराजकतातर्फ धकेल्न सरकार प्रतिपक्षीविरुद्ध उदण्डता र असहिष्णुतापूर्वक प्रस्तुत भएको भन्दै विपक्षी दलहरुले त्यसको भत्र्सना गरेका छन् ।
त्यस्तै, संविधान संशोधन प्रस्तावको विरोधमा काठमाडौंको भृकुटीमण्डपमा गर्न लागिएको विरोधसभाको तयारीमा जुट्ने नेकपा एमालेले आफ्ना जनसंगठनहरुलाई निर्देशन समेत दिएको छ। एमाले प्रचार विभागले केन्द्रीय कार्यालयमा एक कार्यक्रम गरी तयारीमा जुट्न निर्देशन दिने निर्णय जानकारी गराइएको छ।
सचिव योगेश भट्टराईले पुस १५ गतेदेखि २० गतेसम्म पार्टीका गाउँ, नगर, वडा तथा टोलस्तरका कमिटी र जनसङ्गठनका जिल्ला भन्दा तलका सबै कमिटी र सबै जिल्ला तथा क्षेत्रीय सम्पर्क मञ्चका बैठक तथा भेला गरी तयारीका काम गरिने बताए। विरोधसभामा मोटरसाइकल र्‌याली र कोणसभा पनि गरिने छ।
विपक्षमा रहेका नेकपा एमाले, नेकपा माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल जनमुक्ति पार्टी ९लोकतान्त्रिक०, नेपाः पार्टी, मधेस समता पार्टी र दलित जनजाति पार्टीका अध्यक्षले हस्ताक्षर गरेको अपिल घररघर पु¥याउने योजना गरेको भट्टराईले बताएर संसदमा सरकारले दर्ता गराएको संशोधन प्रस्तावबिरुद्ध एमालेलगायत ९ दलले आगामी पुस २२ मा विरोधसभाको आयोजना गरेको छ।

११ पुस २०७३ ।