राजनीति

एमालेसंग वार्ता थाल्न कांग्रेसको आग्रह

काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधन र स्थानीय निर्वाचनका विषयमा मुख्य विपक्षी दल नेकपा एमालेसँग तत्काल छलफल थाल्नका सरकारलाई आग्रह गरेको छ। कांग्रेस संसदीय दलको कार्यालयमा पार्टीका पूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारीहरुको बैठकले स्थानीय निर्वाचनको वातावरण निर्माणका लागि तत्काल विपक्षी दलसँग छलफल अघि बढाउनुपर्ने निष्कर्ष निकालेको हो।
छलफल सोमवार पनि जारी रहने छ। कांग्रेस नेता डा. रामशरण महतका अनुसार कम्तिमा पनि स्थानीय निर्वाचनको वातावरण तत्काल बनाउनुपर्ने र संविधान संसोधनका विषयका विपक्षी दलसँग तत्काल छलफल थाल्नुपर्ने निष्कर्ष निकालेको छ।
बैठकले स्थानीय तह वा निकाय जुनमा राजनीति सहमति बन्छ त्यसैको निर्वाचन ढिलोमा बैशाखसम्ममा गराउने वातावरण बनाउनु पर्ने विचार आएको नेता डा. मिनेन्द्र रिजालले बताए। एमालेलाई सहमतिमा नलिई संविधान संशोधन र चुनाव दुवै असम्भव भएकाले सहमतिको वातावरणका लागि सरकारले तत्काल एमालेसँग छलफल गर्नुपर्ने बताए।
बैठकमा अधिकांश नेताहरुले कांग्रेसका नेताहरुले स्थानीय चुनाव पुरानै संरचना अनुसार गर्नुपर्ने धारणा राखेको स्रोतले जनाएको छ। बैठकमा सभापति देउवाले संविधान संशोधन नगरी मधेसी मोर्चा चुनावमा आउने सम्भावना नरहेकाले एमालेले हठ नछाड्दा समस्या उत्पन्न भएको बताएका थिए।