राजनीति

‘भोलि बाबुराम पनि हिटलर बन्न सक्नुहुन्छ’: हिसिला यमी

काठमाडौँ– नयाँ शक्तिकी नेतृ हिसिला यमीले भोलि बाबुराम भट्टराई पनि हिटलर बन्न सक्ने बताएकी छन् । नेपाल साप्ताहिकसँगको कुराकानीमा नेतृ यमीले यस्तो धारणा राखेकी हुन् । उनले भनिन्– ‘हामी कहाँ हिटलर नजन्मिने के ग्यारेन्टी छ र ?  भोलि बाबुराम भट्टराई पनि हिटलर बन्न सक्नुहुन्छ । तर, समावेशीसहितको समृद्धिले बाबुरामजी वा नयाँ शक्तिलाई हिटलर बनाउँदैन । माओवादीमा हुँदाखेरि नै कतिपय महिलाले नै मलाई संघीयताको पक्षमा उभिएको देखेर विरोध गर्थे । बाबुराम भट्टराईसँग विवाह गरिसकेपछि ‘तिमी त बाहुनी भइसक्यौ, खोइ त नाक छेडेको, खोइ त तिलहरी लगाएको, खोइ त सारी लगाएको भन्न थाले ।
त्यस्तै, मोहन वैद्य स्पष्ट दुई लाइन संघर्ष शुरु देखिकै हो । मोहन वैद्यको लाइन स्पष्ट थियो । उहाँ असाध्यै केन्द्रीकृत आफू प्रचण्डपथलाई प्रचण्डवाद भन्नुपर्ने मान्यता राख्नुहुन्थ्यो । उहाँले जहिले पनि आन्तरिकभन्दा पनि बाह्य शक्तिलाई मुख्य दुस्मानका रुपमा लिनुहुन्थ्यो । जब कि हामी आन्तरिक जनवादका लागि लड्थ्यौँ । ‘स्टालिनको ३३ प्रतिशत नकारात्मक पक्षबाट पाठ सिकेर पार्टीभित्र स्टालिनवाद हाबी हनुहुँदैन हाम्रो प्रधान अन्तरविरोध भनेको राजतन्त्र, सामन्तवाद नै हो,’ भनेर हामी निरन्तर लाग्यौँ । प्रचण्ड आफ्नो स्वार्थ हेरेर बीचमा रहनुभयो । त्यसले गर्दा न हामीले जित्न सक्यौँ, न वैद्यले जित्न सक्नुभयो । अहिले देशमा जुन दुर्गति भइरहेको, यसमा हदसम्म प्रचण्डको प्रवृत्ति पनि जिम्मेवार छ ।

१० पुस २०७३ ।