राजनीति

प्रहरी र प्रदर्शनकारीबीच झडप, गुल्मीको अवस्था तनावग्रस्त

दुई गाडीमा आगजनी, २६ जना घाइते 

गुल्मी– प्रहरी र बन्दकर्ताबीच झडप भएपछि गुल्मी सदरमुकाम तम्घास बजार तनावग्रस्त बनेको छ । संविधान संशोधन विधेयक फिर्ताको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच झडप भएको हो । झडपमा दुईजना प्रहरीसहित २६ जना घाइते भएका छन् । 
घाइतेको जिल्ला अस्पताल र रेसुङा अस्पतालमा उपचार भइरहेको छ । मध्यान्ह १२ बजेदेखि झडप भइरहेको हो ।  संविधान संशोधनको विरोधमा प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा तालाबन्दी गरेपछि ताला प्रहरीले खुलाउन खोज्दा दुबै पक्षबीच झडप भएको हो । झडपमा नेकपा मालेकी सांसद कमला विकसहित दुई दर्जन बढी घाइते भएका संघर्ष समितिले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले करिब दुई दर्जन अश्रुग्यास प्रहार गरेको छ । आक्रोशित आन्दोलनकारीले दुईवटा सवारी साधनमा आगजनी समेत गरेका छन् । बा १ झ ६६८१ नम्बरको जिल्ला विकास समितिको गाडी र वास प्रोजेक्टको ६६–१–०–७५५ नम्बरको निलो प्लेटको गाडीमा आगजनी गरिएको हो । 

प्रहरी दमन भएको भन्दै प्रदर्शनकारीले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगाना, डिएसपी भोला रावलको सरुवा माग गरेका छन् । शुक्रबारको आन्दोलनको नेतृत्व गरेकी सांसद विकले एक हप्ताभित्र सरकारले सरुवा नगरे थप आन्दोलन चर्काउने चेतावनी दिइन् । नेकपा एमालेका नेता एवम् गुल्मीका सांसद गोकर्ण विष्ट पनि शुक्रबार नै जिल्ला सदरमुकाम पुगेका छन् । पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा गुल्मीमा जारी आन्दोलनको आज १७ औं दिन हो । बन्दका कारण बजार, यातायात, सरकारी कार्यालय, शिक्षण संस्था सबै ठप्प हुँदा सर्बसाधारण मर्कामा परेका छन् ।

१ पुस २०७३ ।